काठमाडौं । आज सोमबारको लागि लागि बोलाइएको राष्ट्रिय सभाको बैठक मंगलबारका लागि सारिएको छ ।
सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको थियो । बैठक विशेष कारणवश मंगलबार बिहान ११ बजे बस्ने राष्ट्रिय सभा अध्यक्षको सचिवालयले सूचना मार्फत जानकारी दिएको छ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने कार्यसूची रहेको थियो । जसमा विभिन्न मन्त्रालयको बजेट माथि छलफल गर्ने सम्भावित कार्यसूची राखिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएको विषयलाई लिएर नेकपा एमालेले संसदमा अवरोध गर्दै आएको छ ।
सदन खुलाउन आइतबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग सहमति गरेको भनिए पनि आइतबार समेत प्रतिनिधि सभा बैठक हुन सकेन । राष्ट्रिय सभा बैठक पनि सुरु हुने बित्तिकै एमालेका सांसदले विरोध जनाएपछि रोकिएको थियो ।
