काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले प्रतिपक्षको कारण नभई सत्ता पक्ष र प्रधानमन्त्रीकै कारण भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै बास्कोटाले प्रधानमन्त्रीको बारेमा प्रश्न उठ्दा प्रधानमन्त्रीले जवाफ दिनुको सट्टा प्रतिपक्षलाई हिलो छेप्ने काम गरेको बताउनुभयो । बास्कोटाले प्रधानमन्त्रीले देश र जनताको सार्वभौमसत्ताको विरुद्ध पटक पटक अभिव्यक्ति दिँदा पनि सहेको बताउँदै अब अति भएको बताउनुभयो । ‘सार्वभौम सत्तामाथि निरन्तर हमला हुने कुरा र त्यसमा प्रधानमन्त्रीको मौनता हाम्रो लागि सह्यै भएन’, उहाँले भन्नुभयो ।
मिटर ब्याजीलाई कारबाही गर्ने ऐन संसद् चलको ५७ दिनसम्म नल्याएको सरकारले अहिले ल्याएर प्रतिपक्षले रोक्यो भनेर हिलो छेप्ने काम गरेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
प्रधानमन्त्रीले राजीनामा दिनु पर्छ भन्ने कुरामा एमाले प्रष्ट रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले गठबन्धनको बैठक राखेर कोशी प्रदेश सरकार कु गरेर गठन गरेको बताउनुभयो । ‘राजनीतिक कु गर्ने काम गर्यो, संविधान च्यात्ने काम गर्यो’, उहाँले भन्नुभयो ।
उहाँले प्रधानमन्त्रीलाई सत्ता स्वार्थ छाड्न र पदबाट राजीनामा दिन आग्रह गर्नुभयो । देश र जनताको पक्षमा उभिन उहाँले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
