काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षीले राजीनामा माग्दैमा दिनु नपर्ने बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा आफ्नाे अभिव्यक्तिबारे स्पष्टिकरण दिँदै प्रधामन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षीले राजीनामा माग्दैमा दिनुपर्ने हो भनेर प्रश्न गर्नुभयाे । 'के प्रतिपक्षले राजीनामा माग्नेबित्तिकै दिनुपर्ने हाे ? यही हाे लाेकतान्त्रिक परम्परा विधि ? के प्रतिपक्षीले प्रश्न उठाउनेबित्तिकै प्रधानमन्त्रीलाई सम्मानित सदनसमक्ष स्पष्टिकरकाे माैका पनि नदिने हाे ?' - प्रधानमन्त्रीले प्रश्न गर्नुभयाे ।
आफ्नाे अभिव्यक्तिबारे सदनमा स्पष्टिकरणको मौका नदिई राजीनामा माग्नु सही हाे भनेर पनि उहाँले प्रश्न गर्नुभयाे । पहिलेदेखि नै आफूले यो विषयमा स्पष्टिकरण दिन खोज्दा सदन अवरुद्ध नपाएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । 'माननीयज्यूहरुले स्पष्ट पार्न पर्दैन भनेर बडाे गम्भीर ढंगले भन्नुभयाे, म त सुरुदेखि स्पष्ट पार्नका लागि पर्खेर बसेकाे थिएँ, तर किन संसद् अवरुद्ध गरियाे ? राजीनामा नआएसम्म संसद् चल्न दिँइदैन किन भनियाे मैले बुझ्न सकेकाे छैन ? के यही हाे संसदीय अभ्यास ? प्रतिपक्षलाई त्याे हक छ, माननीय राजेन्द्र लिङ्लेनले भनेझैँ नैतिकताकाे प्रश्न उठाउन राजीनामा दिन भन्न पनि सकिन्छ, तर संसदीय अभ्यास र पद्धति के हाे भन्ने हाम्राे प्रमुख प्रतिपक्ष लगायतलाई थाहा छ, मैले एकचाेटी सदनमा उभिएर यथार्थ के हाे ? मेराे कमजाेरी भयाे भने कहाँनिर हाे भनेर मैले भन्न पाउँनुपर्दैन ? किन ३ दिनसम्म सदन अवरुद्ध गरियाे ?'- उहाँकाे प्रश्न छ ।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएकाे भन्ने आफ्नो अभिव्यक्ति भावनात्मक अभिव्यक्ति भएकाे उहाँले दाबी गर्नुभयाे । आफ्नो छोरी ज्ञानु अन्तिम अवस्थामा पुगेको समयमा भारत गएका बेला प्रितमको दिल्लीस्थित फ्ल्याटमा बसेकाे र त्यही बेलामा भएकाे प्रसंग पुस्तक विमाेचनका बेला बाेलेकाे प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयाे ।
आफू भावनात्मक र सेन्टिमेन्टल भएकाे बताउँदै उहाँले भन्नुभयाे - 'उ बेलाकाे कुरा सम्झेर म थोरै भावनामा आएँ, म अलिकति भावनात्मक छु नै, म अलिकति सेन्टिमेन्टल छु नै यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? यो कुरा नभन्दा पनि हुन्थ्यो, थोरै भावनामा आएँ, भन्ने जरुरी त थिएन, मनमा थियो भनेँ, मैले राष्ट्रप्रति घात गर्ने कुरा हो त ?'
प्रितम सिंहबारे बाेल्दा प्रधानमन्त्री भएर भन्दा पनि छाेरी ज्ञानुकाे बारेमा बाेलेकाे दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले याे आफ्नाे कमजाेरी भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपर्थ्याे, ज्ञानुको बुवा भएर बोल्न पुगेँ, प्रितम सिंहलाई धन्यवाद दिन पुगेँ ।'
आफ्नो एउटै भावनात्मक अभिव्यक्तिका कारण अहिलेसम्मको योगदान कुनै काम नलाग्ने नभएको हो भन्दै प्रधानमन्त्री प्रचण्डले प्रश्न गर्नुभयाे । 'क्रान्तिकालमा राष्ट्रियताको नाममा लडेको सकियो यत्तिले ? मेरो एउटा भावनात्मक अभिव्यक्तिले सबै सिद्धियो त ?'- उहाँकाे प्रश्न छ ।
प्रितम सिंहसँग आफ्नो सम्बन्ध पारिवारिक भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सिंह त्यस्तो शक्ति केन्द्र नभएको पनि दाबी गर्नुभयाे । उहाँले आगामी दिनमा आफू त्यसरी भावुक नहुने बताउनुभयाे ।
सार्वजनिक र निजी कार्यक्रममा बाेल्दा आफूले एकै किसिमकाे कुरा बाेल्ने गरेकाे र याे कमजाेरी आफूले सुधार्न नसकेकाे समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । ७० वर्षसम्म नसुध्रिएकाे बानी सुधार्न भने गाह्राे हुने अनुभव आफूले गरेकाे पनि दाबी उहाँले गर्नुभयाे ।
