काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे आफूले दिएकाे अभिव्यक्ति गलत भएकाे स्वीकार गर्नुभएकाे छ ।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने आफ्नाे अभिव्यक्तिबारे साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा स्पष्टिकरण दिँदै प्रधानमन्त्री प्रचण्डले गल्ती स्वीकार गर्नुभएकाे हाे । प्रधानमन्त्रीकाे रुपमा आफूले यस्ताे भाषा बाेल्न नहुनेमा बाेलेर कमजाेरी गरेकाे तर त्यसकाे अर्थ गलत नभएकाे दाबी पनि उहाँले गर्नुभयाे ।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएकाे भन्ने आफ्नो अभिव्यक्ति भावनात्मक अभिव्यक्ति भएकाे उहाँले पटक पटक दाबी गर्नुभयाे । आफ्नो छोरी ज्ञानु क्यान्सर राेगका कारण अन्तिम अवस्थामा पुगेको समयमा भारत गएका बेला प्रितमको दिल्लीस्थित फ्ल्याटमा बसेकाे र त्यही बेलामा भएकाे प्रसंग पुस्तक विमाेचनका बेला बाेलेकाे प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयाे ।
आफू भावनात्मक र सेन्टिमेन्टल भएकाे बताउँदै उहाँले भन्नुभयाे - 'उ बेलाकाे कुरा सम्झेर म थोरै भावनामा आएँ, म अलिकति भावनात्मक छु नै, म अलिकति सेन्टिमेन्टल छु नै यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? यो कुरा नभन्दा पनि हुन्थ्यो, थोरै भावनामा आएँ, भन्ने जरुरी त थिएन, मनमा थियो भनेँ, मैले राष्ट्रप्रति घात गर्ने कुरा हो त ?' प्रितम सिंहबारे बाेल्दा प्रधानमन्त्री भएर भन्दा पनि छाेरी ज्ञानुकाे बारेमा बाेलेकाे दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले याे आफ्नाे कमजाेरी भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपर्थ्याे, ज्ञानुको बुवा भएर बोल्न पुगेँ, प्रितम सिंहलाई धन्यवाद दिन पुगेँ ।'
आफ्नो एउटै भावनात्मक अभिव्यक्तिका कारण अहिलेसम्मको योगदान कुनै काम नलाग्ने नभएको हो भन्दै प्रधानमन्त्री प्रचण्डले प्रश्न गर्नुभयाे । 'क्रान्तिकालमा राष्ट्रियताको नाममा लडेको सकियो यत्तिले ? मेरो एउटा भावनात्मक अभिव्यक्तिले सबै सिद्धियो त ?'- उहाँकाे प्रश्न छ । प्रितम सिंहसँग आफ्नो सम्बन्ध पारिवारिक भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सिंह त्यस्तो शक्ति केन्द्र नभएको पनि दाबी गर्नुभयाे । उहाँले आगामी दिनमा आफू त्यसरी भावुक नहुने बताउनुभयाे ।
सार्वजनिक र निजी कार्यक्रममा बाेल्दा आफूले एकै किसिमकाे कुरा बाेल्ने गरेकाे र याे कमजाेरी आफूले सुधार्न नसकेकाे समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । ७० वर्षसम्म नसुध्रिएकाे बानी सुधार्न भने गाह्राे हुने अनुभव आफूले गरेकाे पनि दाबी उहाँले गर्नुभयाे ।
