काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो असंवैधानिक अभिव्यक्तिबारे साेमबार प्रतिनिधि सभा बैठकमा स्पष्टिकरण दिनुभएकाे छ ।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने आफ्नाे अभिव्यक्तिबारे प्रचण्डले सदनलाई स्पष्ट पार्नुभएकाे हाे ।
तर राष्ट्रिय स्वाभिमानमै आँच आउने राष्ट्रहित विपरीतकाे त्याे गम्भीर अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले हलुका स्पष्टिकरण दिनुभयाे । अन्तरमनले जे भन्छ त्यही गर्छु भन्ने स्पष्टिकरण दिनुभएका प्रचण्डले आफ्नाे असंवैधानिक अभिव्यक्ति पुष्टि हुने कुरा आफैं बाेल्नुभयाे ।
राष्ट्रहित विपरीतकाे अभिव्यक्तिलाई टालटुले जवाफमा टार्न प्रचण्डले इमाेशनल ब्ल्याकमेलिङ समेत गर्नुभयाे । आफ्नी दिवंगत छाेरीकाे विषय उठाएर उहाँले विषयलाई गाेलमटाेल गरेकाे कुरा उहाँकै अभिव्यक्तिले पुष्टि हुन्थ्याे । कुरा मिलाउन सिपालु स्वभावका प्रचण्डले आजकाे सदनमा पनि त्याे सीप प्रयाेग गर्नुभयाे ।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएकाे भन्ने आफ्नो अभिव्यक्ति भावनात्मक अभिव्यक्ति भएकाे उहाँले पटक-पटक दाबी गर्नुभयाे । आफ्नो छोरी ज्ञानु क्यान्सर राेगका कारण अन्तिम अवस्थामा पुगेको समयमा भारत गएका बेला प्रितमको दिल्लीस्थित फ्ल्याटमा बसेकाे र त्यही बेलामा भएकाे प्रसंग पुस्तक विमाेचनका बेला बाेलेकाे प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयाे ।
सार्वजनिक र निजी कार्यक्रममा आफूले उस्तै खालकाे भाषण गर्ने उहाँले बताउनुभयाे । आफू भावुक स्वभावको व्यक्ति भएको र यसै कारण अन्तरमनले जे भन्छ त्यहि बाेल्ने गरेकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
आफ्नो छोरी ज्ञानु अन्तिम अवस्थामा पुगेको समयमा भारत गएका बेला प्रितमको दिल्लीस्थित फ्ल्याटमा बसेकाे र त्यही बेलामा भएकाे प्रसंग पुस्तक विमाेचनका बेला बाेलेकाे प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयाे । आफू भावनात्मक र सेन्टिमेन्टल भएकाे बताउँदै उहाँले भन्नुभयाे - 'उ बेलाकाे कुरा सम्झेर म थोरै भावनामा आएँ, म अलिकति भावनात्मक छु नै, म अलिकति सेन्टिमेन्टल छु नै यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? यो कुरा नभन्दा पनि हुन्थ्यो, थोरै भावनामा आएँ, भन्ने जरुरी त थिएन, मनमा थियो भनेँ, मैले राष्ट्रप्रति घात गर्ने कुरा हो त ?'
प्रितम सिंहबारे बाेल्दा प्रधानमन्त्री भएर भन्दा पनि छाेरी ज्ञानुकाे बारेमा बाेलेकाे दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले याे आफ्नाे कमजाेरी भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपर्थ्याे, ज्ञानुको बुवा भएर बोल्न पुगेँ, प्रितम सिंहलाई धन्यवाद दिन पुगेँ ।'
आफ्नो एउटै भावनात्मक अभिव्यक्तिका कारण अहिलेसम्मको योगदान कुनै काम नलाग्ने नभएको हो भन्दै प्रधानमन्त्री प्रचण्डले प्रश्न गर्नुभयाे । 'क्रान्तिकालमा राष्ट्रियताको नाममा लडेको सकियो यत्तिले ? मेरो एउटा भावनात्मक अभिव्यक्तिले सबै सिद्धियो त ?'- उहाँकाे प्रश्न छ ।
प्रितम सिंहसँग आफ्नो सम्बन्ध पारिवारिक भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सिंह त्यस्तो शक्ति केन्द्र नभएको पनि दाबी गर्नुभयाे । उहाँले आगामी दिनमा आफू त्यसरी भावुक नहुने बताउनुभयाे ।
सार्वजनिक र निजी कार्यक्रममा बाेल्दा आफूले एकै किसिमकाे कुरा बाेल्ने गरेकाे र याे कमजाेरी आफूले सुधार्न नसकेकाे समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । ७० वर्षसम्म नसुध्रिएकाे बानी सुधार्न भने गाह्राे हुने अनुभव आफूले गरेकाे पनि दाबी उहाँले गर्नुभयाे ।
