काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नाे विवादास्पद अभिव्यक्ति गलत भएकाे स्वीकार गरेपछि सदन सुचारु गर्न आफूहरु तयार रहेकाे बताउनुभएकाे छ ।
साेमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीले भविष्यमा त्यस्तो कमजोरी नदोहोर्याउने प्रतिबद्धता गरेकाले एमालेले त्यसलाई स्वीकार गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सारमा उहाँले (प्रधानमन्त्रीले) मैले बोल्ने कुरामा त्रुटी गरेँ, मेरो भावना त्यस्तो थिएन, मनशाय त्यस्ताे हाेइन, तर मैले बाेल्ने बेलामा गल्ती गरेँ त्यसकारण सदन समक्ष क्षमा चाहान्छु, भविष्यमा यस्ता कमजोरी नदोहोर्याउने काेशिस गर्छु भनेर प्रधानमन्त्रीले भन्नुभयाे, त्यसकारण भविष्यमा यस्ताे नगर्नुहाेला भनेर हामीले एक पटक माैका दिन चाहायाैं ।'
आफूलाई प्रधामन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएकाे भन्ने अभिव्यक्ति राष्ट्रिय स्वाधिनता र स्वाभिमान विरुद्ध रहेकाे तर त्यस्ताे गम्भीर अभिव्यक्तिमा प्रधानमन्त्रीले गहिराइबाट स्पष्टिकरण दिन नसकेकाे प्रमुख सचेतक गिरीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'प्रधानमन्त्री प्रचण्डकाे अभिव्यक्तिले नेपाली जनताकाे मन दु:खेकाे थियाे, राष्ट्रिय स्वाधिनतामाथि जसरी प्रश्न उठेका थिए, राष्ट्रिय स्वाभिमानमा जुन खालकाे ठेस लाग्ने काम भएकाे थियाे, त्यसकाे गहिराइबाट जवाफ दिनुपर्थ्याे, गहिराइबाट जवाफ आएको छैन, अनेक हिसाबले टालटुल गर्ने प्रयास उहाँले गर्नुभएकाे हाे, उहाँले म भावनामा आएर बाेलिहालेँ, गल्ती भयाे, भविष्यमा यस्ताे गल्ती नगर्ने काेशिस गर्छाैं भन्नुभयाे, अहिले यसलाई हामी स्वीकार गर्छौं ।'
