काठमाडाैं । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले सरकारले ल्याएकाे बजेट संघीयता विराेधी रहेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै सांसद् घिमिरेले खानेपानी मन्त्रालयको खर्च कटौतीकाे प्रस्ताव पेस गर्दै जनआकांक्षा विराेधी रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'याे बजेट संघीयता विराेधी छ, आफैंले पेस गरेकाे नीति तथा कार्यक्रमकाे पनि विराेधी छ, याेजना आयाेगले गरेका सिफारिस समेतलाई लत्याएर याेजना आयाेगकाे पनि विराेधी छ ।'
आवश्यकता भएकाे ठाउँमा बजेट नै नछुट्याइएकाे र याेजना नै नभएका ठाउँमा बजेट थुपार्ने काम भएकाे सांसद् घिमिरेले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'बजेटमा यस्ता कार्यक्रम राखियाे, जसले न बजेटलाई जनतासँग जाेड सक्याे, न आवश्यकतासँग जाेड्न सक्याे, न कर्णाली, मधेश प्रदेश र हिमाललाई जाेड्न सक्याे, न त संविधानमा भएका माैलिक हकसँग जाेडिन सक्याे, न त दीगाे विकासका लक्ष्यसँग जाेडिन सक्याे, १५औं पञ्चवर्षीय याेजनाकाे समीक्षा गरिएन, १६औं याेजनाकाे चर्चै भएन ।'
दीर्घकालीन साेच अन्तर्गत रहेकाे समृद्ध नेपाली सुखी नेपालीकाे राष्ट्रिय आकांक्षालाई बजेटले कतै उल्लेख गर्न नसकेकाे सांसद् घिमिरेले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'याे बजेट फगत मिलिजुली बसाैं, बाँडीचुडी खाऔं, सत्ता गठबन्धनलाई बलियाे बनाऔं भन्ने नारामा सीमित रह्याे ।'
मेलम्ची खानेपानी आयोजनाबाट लेदो पानी आएमा प्रशोधन गर्न नसकिने भन्ने सचिवको भनाइ सुनेर छक्क परेको सांसद् घिमिरेले बताउनुभयाे । अझैपनि ५ प्रतिशत घरधुरीमा पानीकाे पहुँच नपुगेकाे भन्दै उहाँले यसमा सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
