काठमाडाैं । परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदले सरकार असंलग्न परराष्ट्र नीतिकाे सम्बन्धमा प्रष्ट र प्रतिबद्ध रहेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा विनियाेजन विधेयक अन्तर्गत परराष्ट्र मन्त्रालयकाे बजेटमाथिकाे सांसद्ले उठाएका प्रश्नकाे जवाफ दिँदै मन्त्री साउदले नेपाल असंग्न परराष्ट्र नीतिबाट विचलित नभएकाे बताउनुभयाे । 'नेपालले असंलग्न परराष्ट्र नीति अपनाउँदै आएकाे छ, याे कुरा म पुन: स्पष्ट गर्न चाहान्छु, हाम्राे सबै देशसँग सुमधुर सम्बन्ध रहेकाे पनि स्पष्ट गर्न चाहान्छु'- उहाँले भन्नुभयाे ।
परराष्ट्र नीति सञ्चालनका मूलभूत आधार नेपालकाे संविधानले निर्दिष्ट गरेकाे भन्दै उहाँले ती आधारमध्ये असंलग्नता प्रमुख आधार भएकाे बताउनुभयाे । नेपालले सार्वभाैमिक समानता, पारस्पारिक सम्मान र लाभका आधारमा छिमेकी लगायत अन्य देशसँगकाे सम्बन्धलाई सुदृढ र विस्तार गर्दै आएकाे बताउनुभयाे ।
गुण र दाेषका आधारमा अन्तर्राष्ट्रिय मुद्दामा स्वतन्त्र धारणा बनाउने, मतदान गर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई न्यायपूर्ण, निष्पक्ष, उत्तरदायी र सहयाेगात्मक बनाउने दिशामा नेपालकाे कूटनीतिक प्रयास उन्मुख रहेकाे भन्दै उहाँले नेपालकाे स्वतन्त्र, सन्तुलित, निष्पक्ष र वस्तुनिष्ठ दृष्टिकाेणका कारण विश्व जगतमा विश्वसनियता र सम्मान आर्जन हुन सकेकाे बताउनुभयाे ।
हालै मात्र आफू अजरबैजानकाे बाकुमा सम्पन्न असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी भएर फर्किएकाे भन्दै मन्त्री साउदले त्यहाँ आफूले असंलग्न आन्दाेलनकाे सान्दर्भिकता र महत्वलाई थप उजागर गर्न सहकार्य गर्ने नेपाल सरकारकाे प्रतिबद्धता व्यक्त गरेकाे बताउनुभयाे । ०७७ कात्तिक ७ मा स्वीकृत परराष्ट्र नीतिलाई आवश्यकता अनुसार परिमार्जन गर्दै जाने उहाँले बताउनुभयाे ।
चीनसँगकाे बीआरआई सम्झाैता कार्यान्वयन याेजनामा दुई देशबीच छलफल जारी रहेकाे समेत परराष्ट्रमन्त्री साउदले बताउनुभयाे । चीनका परराष्ट्रमन्त्रीकाे यही मार्चमा भएकाे नेपाल भ्रमणका बेला भएकाे हस्ताक्षर अनुसार केरुङ-काठमाडाैं रेलवेकाे सम्भाव्यता अध्ययन तथा दुई देशबीच अन्तरदेशीय विद्युत प्रशारण लाइनकाे सम्भाव्यता अध्ययन भइरहेकाे उहाँले बताउनुभयाे ।
मन्त्री साउदले राजदूत नियुक्ति प्रक्रिया चाँडै टुंगिने दाबी पनि गर्नुभयाे । हाल ७ देशमा राजदूत पद रिक्त रहेकाे भन्दै उहाँले चाँडै नै ती देशमा राजदूत नियुक्त गरिने बताउनुभयाे । राजदूत नियुक्तिमा सरकारकाे ५० प्रतिशत र परराष्ट्रकाे ५० प्रतिशत हात हुने भन्दै मन्त्री साउदले यसका लागि उच्च तहमा छलफल भइरहेकाे बताउनुभयाे ।
नेपाली नियाेगकाे सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक काम गरिरहेकाे भन्दै मन्त्री साउदले नेपाल र ती देशकाे समय फरक पर्ने भएकाले समयमा फाेन उठ्न नसकेकाे दाबी गर्नुभयाे । विदेशमा रहेका नेपालीकाे हक, हित र सुरक्षाप्रति संवेदनशील हुनेतर्फ नेपाली राजदूत तथा नियाेग प्रमुखलाई अभिमुखिकरण गरिएकाे उहाँले बताउनुभयाे । विदेशमा रहेका नेपालीकाे हक हितकाे सुरक्षा गर्न र आवश्यक सहयाेग उपलब्ध गराउन विदेशस्थित नेपाली नियाेगकाे भूमिकालाई प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेकाे बताउनुभयाे ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे रुस भ्रमणका क्रममा क्रममा शिक्षा, स्वास्थ्य र भाैतिक पूर्वाधारमा भएका सहमतिकाे विषयमा नेपालका लागि रुसका राजदूतसँग आफूले छलफल गरेकाे र रुसकाे थप प्रतिक्रियाकाे प्रतिक्षा गरिरहेकाे मन्त्री साउदले बताउनुभयाे ।
नेपाली सेनाले संयुक्त राष्ट्रसंघकाे मिसन अन्तर्गत विश्वमा शान्ति स्थापनाका लागि निरन्तर क्रियाशील रहेकाे भन्दै उहाँले देशकाे प्रतिरक्षा गर्न सक्षम र समर्पित भएकाे बताउनुभयाे ।
आर्थिक कूटनीतिकाे सम्बन्धमा पनि सरकार सचेत रहेकाे मन्त्री साउदले बताउनुभयाे । सेना र कूटनीतिक सम्बन्धबारे बोल्दा संयमता अपनाउन समेत उहाँले सांसद्हरुलाई सुझाव दिनुभयाे ।
