काठमाडाैं । विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभाकाे दाेस्राे बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेस गर्नुभएकाे साे प्रस्ताव सभाले बहुमतले स्वीकृत गरेकाे हाे ।
साे प्रस्तावमाथिकाे सैद्धान्तिक छलफलमा बाेल्दै नेकपा एमालेकी सांसद् भगवति न्याैपानेले आफैंले उत्पादन गर्न सक्ने विद्युत आयाेजना पनि सरकारले विदेशी कम्पनीलाई सुम्पिएकाे भन्दै आपत्ति जनाउनुभयाे । उहाँले पहिला देशभित्रै खपतकाे याेजना बनाउन र त्यसपछि मात्र व्यापारमा जान सरकारलाई सुझाव दिनुभयाे ।
एमालेकै सांसद् तुलसाकुमारी दाहालले विधेयक सकारात्मक भएपनि स्पष्ट नभएकाे बताउनुभयाे ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यलाई राष्ट्रिय सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न अनुराेध गर्नुभयाे ।
असार २६ गते बसेकाे राष्ट्रिय सभा बैठकमा मन्त्री रिजालले नै साे विधेयक पेस गर्नुभएकाे थियाे ।
राष्ट्रिय सभाको अर्को बैठक यही असार २९ गते बिहान ११ः१६ बजे बस्नेछ ।
