काठमाडौं । बजेटका दुई पूरक विधेयकहरू आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभाकाे दाेस्राे बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएकाे दुवै प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा संशाेधन प्रस्ताव पेस गर्न चाहाने सांसद्लाई विधेयक शाखामा संशाेधन दिन अनुराेध गर्नुभयाे ।
बिहीबार नै बसेकाे राष्ट्रिय सभाकाे पहिलाे बैठकले बजेटकाे मुख्य विधेयक विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेकाे थियाे । दुई पूरक विधेयक पारित भएपछि मात्र बजेट पूर्ण रुपमा पारित हुनेछ र कार्यान्वयनमा जानेछ ।
प्रतिनिधि सभाबाट बजेटका दुई पूरक विधेयक असार १७ गते र मुख्य विधेयक विनियाेजन विधेयक असार १३ गते पारित भइसकेका छन् ।
