काठमाडाैं । बजेटका पूरक विधेयकहरु आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० राष्ट्रिय सभाबाट पारित भएका छन् ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ती दुवै विधेयकलाई बहुमतले पारित गरेकाे हाे ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई मूलरुपमै सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे । त्यसअघि ती विधेयककाे सम्बन्धमा प्राप्त सुझाव बहुमतले अस्वीकृत भएका थिए ।
बिहीबार बसेकाे राष्ट्रिय सभाकाे पहिलाे बैठकले बजेटकाे मुख्य विधेयक विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेकाे थियाे ।
प्रतिनिधि सभाबाट बजेटका दुई पूरक विधेयक असार १७ गते र मुख्य विधेयक विनियाेजन विधेयक असार १३ गते पारित भइसकेका छन् ।
