काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशकाे अर्थतन्त्र विस्तारै चलायमान भइरहेकाे दाबी गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि सांसद्ले उठाएका प्रश्नकाे जवाफ दिने क्रममा अर्थमन्त्री महतले देशकाे अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेकाे दाबी गर्नुभयाे ।
उहाँले मुल्यवृद्धि पनि घट्दै गएकाे बताउनुभयाे । अर्थमन्त्री महतले भन्नुभयाे - 'अर्थतन्त्रले विस्तारै चलायमान हुँदैछ, मूल्यवृद्धि पनि घटेकाे छ,सकारात्मकतातर्फ अर्थतन्त्र अगाडि बढेको छ ।' ब्याजदर घटाइने भन्दै उहाँले यसले पनि अर्थतन्त्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयाे । आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गरिने समेत अर्थमन्त्री महतले बताउनुभयाे ।
याे पटक सरकारले करको दायरा फराकिलो पारेको भन्दै उहाँले राजश्व बढ्ने विश्वास रहेकाे बताउनुभयाे । हरेक वर्ष चुराेट र सुर्तीमा अन्तशुल्क वृद्धि गरिएकाे भन्दै अर्थमन्त्री महतले चुराेट र सुर्तीमा उच्च दरमा कर लगाइएकाे बताउनुभयाे । गुड्खामा कर लगाइएकाे उहाँले बताउनुभयाे ।
आर्थिक हैसियत भएकाहरु नै विदेश जाने भन्दै अर्थमन्त्री महतले साेहीकारण वैदेशिक पर्यटनमा कर लगाइएकाे दाबी गर्नुभयाे । तर थाेरै कर लगाइएकाे समेत उहाँले बताउनुभयाे ।
आवश्यकता अनुसार ऋण लिने काम सरकारले गरेकाे भन्दै उहाँले किन लिने, कहाँ प्रयाेग गर्ने र त्यसकाे प्रतिफल के हुने भन्नेमा सरकार गम्भीर रहेकाे बताउनुभयाे ।आगामी आर्थिक वर्ष करिब ५ प्रतिशत आन्तरिक ऋण उठाइने उहाँले बताउनुयाे । याे पटक राजश्व कम उठेकाे भन्दै अर्थमन्त्री महतले त्यस्ताे अवस्थामा थाेरै ऋण उठाउँदा समस्या हुने बताउनुभयाे । अत्यन्त सजग भएर उत्पादनशील क्षेत्रमा ऋण उपयाेग गरिने उहाँले बताउनुभयाे ।
