काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले गरेका कामबारे सदनलाई जानकारी गराउन निर्देशन दिनुभएकाे छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद्हरुले पशुचौपायामा महामारीको रुपमा फैलिएको लम्पिस्किन रोगको रोकथामका लागि सरकारले गरेको कामबारे संसद्लाई जानकारी गराउन कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई निर्देशन दिनुभएकाे हाे । सांसद्हरुले लम्पिस्किन रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले यस विषयमा सदनमा जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको हो ।
लम्पिस्किनकाे बारेमा सदनमा पटक-पटक आवाज उठेको अवस्थामा यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले रोग रोकथामका लागि गरेका कामकारबाहीका बारेमा जानकारी गराउन सम्बन्धित कृषि मन्त्रीलाई निर्देशन दिनुभयाे ।
त्यसअघि बैठकमा सांसद्हरुले लम्पिस्किनले महामारीको रुप लिएर धेरै क्षति हुँदा पनि सरकार गम्भीर नभएको बताएका थिए ।
बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले लम्पिस्किन रोगका कारण किसानहरु पीडाको आहालमा डुबेर बस्न बाध्य भएपनि सरकार जिम्मेवारबिहीन भएको बताउनुभयो । उहाँले रकम अभाव नभएर उपचार गर्न नसकेको हो भने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तर गरेर भए पनि किसानलाई राहत, औषधि र खोप उपलब्ध गराउन माग गर्नुभयाे ।
कांग्रेस सांसद् रामहरि खतिवडाले पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । राेपाइँकाे बेलामा लम्पिस्किनले गाेरु मर्दा किसानले राेपाइँ गर्न समेत नपाएकाे उहाँले बताउनुभयाे । ती ठाउँमा तत्काल राेपाइँ गर्ने व्यवस्था मिलाउन समेत सांसद् खतिवडाले माग गर्नुभयाे ।
सांसद् राेशन कार्की, विश्वप्रकाश शर्मा लगायतले पनि किसानको समस्यमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयाे ।
