काठमाडौं । सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८०-०८१ को बजेटसम्बन्धी मुख्य र पूरक विधेयकहरु प्रमाणित गर्नुभएकाे छ ।
संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय बैठकबाट पारित विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक सभामुख घिमिरेले शुक्रबार प्रमाणित गर्नुभएकाे हाे ।
नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गर्नुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने कानुनी व्यवस्था छ ।
असार २८ गते बसेकाे राष्ट्रिय सभाकाे पहिलाे बैठकले बजेटकाे मुख्य विधेयक विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेकाे थियाे भने आज बसेकाे बैठकले पूरक विधेयकहरु आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेकाे थियाे ।
प्रतिनिधि सभाबाट बजेटका दुई पूरक विधेयक असार १७ गते र मुख्य विधेयक विनियाेजन विधेयक असार १३ गते पारित भएका थिए ।
