काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पशुचाैपायामा महामारीका रुपमा देखिएकाे लम्पिस्किन रोगको रोकथामका लागि सरकार गम्भीर ननभएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै प्रमुख सचेतक गिरीले साे राेगबाटबाट ८ लाख पशुचाैपाया संक्रमित र २७ हजार पशुचाैपायाकाे मृत्यु हुँदा पनि रोग नियन्त्रणका लागि सरकारले उचित कदम नचालेकाे बताउनुभयाे ।
लम्पिस्किन रोगबाट संक्रमित भएका र मृत्यु भएका पशुचाैपायाबाट किसानहरुलाई ३७ अर्ब बराबरको क्षति भइसकेको उहाँले बताउनुभयाे ।प्रमुख सचेतक गिरीले भन्नुभयाे - 'विपन्न र गरिब जनताहरु, ती किसानहरुलाई ती पशु चौपायाबाट ३७ अर्ब बराबरको क्षति भएको छ, यस्तो विकराल स्थिति हुँदाखेरी पनि सरकारले यसलाई जसरी गम्भीरताका साथ लिनुपर्थ्याे र जुन तदारुकता देखाउनुपर्थ्याे, जुन ढंगले उपचारको काममा लाग्नुपर्थ्याे, खोपहरु जसरी प्रभावकारी ढंगले वितरण गर्नुपर्थ्याे, सरकारले यसमा उदासीनता देखाएको कारणले किसानहरुले ३७ अर्ब भन्दा बढीको क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।'
सरकारले समयमै सजगता अपनाएको भए यो क्षति बेहोर्नुपर्ने अवस्था नआउने समेत उहाँले बताउनुभयाे । यही स्थिति रहे निकट भविष्यमा २५ लाख बढी पशुचाैपाया संक्रमित हुने, १ लाख बढीकाे मृत्यु हुने र किसानले ठूलाे क्षति ब्यहाेर्नुपर्ने आँकलन विज्ञहरुले गरिरहेका भन्दै प्रमुख सचेतक गिरीले यसमा गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
लम्पिस्किनले विकराल रुप लिइसक्दा समेत सरकारले अझैपनि प्रभावकारी ढंगले खाेप लगाउन नसकेकाे र गाउँगाउँमा प्राविधिकहरु समेत पठाउन नसकेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । प्रमुख सचेतक गिरीले भन्नुभयाे - 'जम्मा दुई लाख २२ हजार पशुलाई खोप लगाएको छ, खोप अत्यन्त अपर्याप्त छ, लगाउने गति पनि साह्रै सुस्त छ, गाउँमा जुन ढंगले प्राविधिकहरु पठाउनुपर्थ्याे सरकारले प्राविधिकहरु पठाएको छैन, खोप आवश्यक मात्रामा पठाएको छैन, औषधि र मल्हमपट्टी पठाउने काम गरेको छैन, त्यही कारणले धमाधम गाईभैंसी गाेरु मरिरहेका छन्, यसतर्फ सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।'
विभागका महानिर्देशक र कार्यालय प्रमुखहरुले सरकारले बजेट नदिएका कारण प्रभावित क्षेत्रमा खाेप, औषधि र मलमपट्टी पठाउन नसकिएकाे बताएका समेत उहाँले बताउनुभयाे ।
बजेट अभाव भएकाे भए निर्वाचन क्षेत्र विकास कोषबाट रकमान्तर गरेर भए पनि साे राेग नियन्त्रणका लाग्न प्रमुख सचेतक गिरीले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । उहाँले भन्नुभयाे - 'यति संवेदनशील विषयमा सरकार गम्भीर भएकाे छैन, किसानहरु आज राेइरहेका छन्, यस्ताे स्थितिमा सरकार उदासिन बस्न मिल्दैन, नाजवाफ र जिम्मेवारबिमुख भएर अभिव्यक्ति दिन मिल्दैन, यदि सरकारसँग पैसा नभएर किसानले राहत नपाएकाे हाे भने, अहिले सांसद्हरुका लागि भनिएकाे निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम छ, त्याे कार्यक्रमबाट रकमान्तर गरेर भएपनि ती किसानलाई राहत उपलब्ध गराउनुपर्याे, खाेप र औषधि उपलब्ध गराउनुपर्याे, किसानहरु टाउकाेमा हात राखेर धुरुधुरु रुने अवस्था हामीलाई सह्य छैन, सरकारले यसलाई गम्भिरतापूर्वक लेओस्, भाेलिबाटै प्रभावकारी ढंगले काम थालाेस् ।'
