काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिटरब्याजसम्बन्धी विधेयक तत्काल सदनमा ल्याउन सरकारसँग माग गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सभापति लामिछानेले प्रतिपक्षीहरु मिटरब्याजसम्बन्धी विधेयककाे विपक्षमा छन् भनेर भ्रम छर्ने सरकारले आजकाे कार्यसूचीमा साे विधेयक किन नल्याएकाे भन्दै प्रश्न गर्नुभयाे ।
आफूहरु मिटरब्याज पीडितको पक्षमा रहेको उहाँले बताउनुभयाे । 'रास्वपा सरकारलाई यो विधेयक यथाशीघ्र सदनमा ल्याउनको निमित्त आह्वान गर्न चाहन्छ, हामी पीडितहरुको पक्षमा छौं, मिटरब्याजको पीडाबाट जसरी जीवन-मरणको दोसाँधमा नागरिकहरु पुगेका छन् उनीहरुको पक्षमा हामी अहिले नै तयार छौँ, यसलाई छिट्टै फास्ट्याकबाट ल्याएर प्रतिस्थापन विधेयकमार्फत १५ दिनभित्र सम्पन्न गर्न सकिन्छ भन्ने कुराको प्रतिबद्धता हामीले व्यक्त गरिसकेका थियौँ, तर कसको स्वार्थले यसरी यो विधेयकलाई संसद्मा ल्याइएन ? यो सदनलाई जानकारी हुनुपर्छ'- लामिछानेले भन्नुभयाे ।
प्रतिनिधि सभाकाे आगामी बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याएमा संसद् बैठक चल्न नदिने चेतावनी समेत उहाँले दिनुभयो । ' आगामी बैठकमा मिटरब्याज पीडितहरुका लागि भनेर सरकारले ल्याउन खोजेको र शून्यमा गएकाे विधेयकलाई ब्युँताएर, यदि कार्यसूचीमा राखिएन भने रास्वपा सदन चल्न नदिने पक्षमा उभिनेछ, मिटरब्याज पीडितहरुको पक्षमा दह्रो खह्रो भएर उभिनेछ'- सभापति लामिछानेले चेतावनी दिनुभयाे ।
सत्तापक्षकै केही दलका कारणले यसलाई राेक्न खाेजिएकाे भन्ने कुरा आएकाे भन्दै उहाँले मिटरब्याज पीडितकाे पक्षमा काे छ र विपक्षमा काे छ भनेर जनताले जान्न पाउनुपर्ने बताउनुभयाे ।
