काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् रणेन्द्र बरालीले दलित समुदायमाथि ज्यादतीले सीमा नाघेको गुनासाे गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् बरालीले पछिल्लाे समय दलित समुदायमाथि एकपछि अर्काे हिंसाका घटना बढेकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
दलित समुदायका व्यक्तिले अन्तरजातीय विवाह गरेमा विभिन्न झुटा मुद्दा लगाएर फसाउने गरिएको बताउँदै उहाँले भन्नुभयाे - 'दलित समुदायप्रतिको ज्यादतीले सीमा नाघ्याे, अती भयाे ।'
अन्तरजातीय विवाह गरेका कारण हालै जुम्लामा मकेन्द नेपालीको घरमा सर्वस्व हुनेगरुि आगजनी भएकाे भन्दै सांसद् बरालीले केटी पक्षबाट भएकाे साे घटना निन्दनीय रहेकाे बताउनुभयाे । उहाँले साे घटनाका दाेषीलाई कानुन अनुसार हदैसम्मकाे कारबाही गर्न माग्नुभयाे ।
काभ्रेका अजित मिजारकाे शव ७ वर्षसम्म सड्नु, हत्यारा छाती खाेलेर हिँडिरहनु, कालीकाेटका वडा सदस्य माना सार्कीलाई कुटपिट गरी मार्नु, भर्खरै वाग्लुङका प्रभात बस्याललाई प्रेम विवाह गरेकै कारण ठूला जातीले बलात्कार अपहरण मुद्दा लगाउने जस्ता घटनाले जातिय विभेदले सीमा नाघेकाे पुष्टि हुने उहाँले बताउनुभयाे ।
यस्ता घटना हुन नदिन संसदीय विशेष समिति नै बनाएर काम गर्नुपर्ने समेत सांसद् बरालीले बताउनुभयाे । दलित समुदायमाथि भइरहेका विभेदपूर्ण व्यवहारको अन्त्य गर्न सचेतनामूलक कार्यक्रम चलाउनुपर्ने भन्दै उहाँले दाेषीलाई तत्काल कारबाही गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
