काठमाडौ । प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे अवराेधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० लाई स्वीकृत गर्ने प्रक्रियालाई लिएर रास्वपा र राप्रपाले विराेध गरेकाे हाे ।
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि परेका विरोधका सूचना निर्णयार्थ पेस गरिसकेपछि सभामुख घिमिरेले कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई विधेयक पेस गर्न समय दिनुभयाे । मन्त्री गुरुङले विधेयक पेस गर्नुभयाे । साे विधेयक पेस गरियाेस् भन्ने प्रस्ताव बहुमतले पारित भएकाे सभामुखले घाेषणा गर्नुभयाे ।
त्यसपछि सभामुख घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशाेक राईलाई विधेयक पेस गर्न समय दिनुभयाे । मन्त्री राई राेष्टममा पुग्नासाथ रास्वपा र राप्रपाका सांसद्ले उठेर विराेध जनाए । सभामुखले रास्वपाका सन्ताेष परियारलाई बाेल्न समय दिनुभयाे । परियारले विधेयककाे प्रक्रिया नमिलेकाे बताउनुभयाे ।
सभामुखले मन्त्री राईलाई राेकिन आग्रह गर्दै प्रतिनिधि सभा नियमावली पढेर सांसद्हरुलाई बस्न आग्रह गर्नुभयाे । तर रास्वपा र र राप्रपाका सांसद्ले अटेर गरे । त्यसबीचमा सभामुखले कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई बाेल्न समय दिनुभयाे । तर सांसद्हरुकाे हल्लाले बाेल्ने वातावरण नै बनेन ।
राप्रपा र रास्वपा सांसद्हरु विराेध गर्दै बेल घेराउ गर्न पुगे । उनीहरुले विरोध कायम राखेपछि सभामुखले रोष्टममा विधेयक पेस गर्न गएका मन्त्री राईलाई फिर्ता बोलाएर बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयाे ।
