काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले कृषि मन्त्रालयको नाम परिवर्तन गरेर कार्यकर्ता मन्त्रालय राख्नुपर्ने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले मन्त्रालयबाट जाने बजेट सरकार निकट पार्टीका कार्यकर्ताले दुरुपयोग गरिरहेका बताउनुभयाे ।
किसानलाई दिइने अर्बाैं पैसा पार्टीका लाेकल कार्यकर्ताले चरम दुरुपयाेग गर्नु आपत्तिजनक भएकाे भन्दै उहाँले कृषिप्रदान देश नेपालमा किसानलाई नै हेपिएकाे बताउनुभयाे । 'कृषि मन्त्रालय छ, कृषि मन्त्री हुनुहुन्छ, अब म कृषि मन्त्री र मन्त्रालयको नाम परिवर्तन गरौँ भन्छु म , यो कार्यकर्ता मन्त्रालय, कार्यकर्ता मन्त्री बनाऔं, किनभने अब अर्बौं रुपैयाँ कृषि मन्त्रालयमा गएको छ, तर वास्तविक किसानले होइन कि पार्टीका लोकल कार्यकर्ताहरूले बजेट पाएर राज्यको चरम दुरुपयोग गरिरहेका छन्, यिनीहरुलाई अख्तियार लगाएर छानबिन गरियाेस्, कानुनी कठघारामा उभ्याइयाेस्'- शाहीले भन्नुभयाे ।
जुम्लामा ७ सय बढी किसानले राहत नपाएका उहाँले बताउनुभयाे । जिल्ला जिल्लामा रहेका कृषि कार्यालयले किसानका नभएर पार्टीकाे काम गरिरहेका प्रमुख सचेक शाहीले बताउनुभयाे । जुम्लामा ५ वटा स्याउका बाेट लगाउनेले सेटिङमा १७-१८ लाख बढी राहत पाइरहेकाे अवस्था रहेकाे भन्दै सांसद् शाहीले केन्द्रबाटै क्षतिपूर्तिकाे व्यवस्था मिलाउन माग गर्नुभयाे ।
जनताकाे पैसा उठाएर खाने सहकारीहरुलाई कारबाही गर्न र पीडितलाई राहत दिन समेत उहाँले सरकारसँग माग गर्नुभयाे ।
