काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० अपराध र हिंसालाई मलजल पुग्ने गरी आएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा साे विधेयकमाथि विरोधको सूचना प्रस्तुत गर्दै प्रमुख सचेतक शाहीले साे विधेयकले हिंसालाई माफ गर्ने बताउनुभयाे । अपराधलाई राजनीतिकरणकाे रंग दिने विधेयक जस्ताकाे तस्तै अघि बढ्न नसक्ने भन्दै उहाँले यसलाई खारेज गर्नुपर्ने बताउनुभयाे ।
याे विधेयक पारित भए मुलुक बर्बादितिर धकेलिने शाहीले बताउनुभयाे । कुर्सी जोगाउनका लागि सरकारले अपराध र हिंसा प्रवर्द्धन हुने गरी विधेयक ल्याएको भन्दै प्रमुख सचेतक शाहीले आपत्ति जनाउनुभयाे । अहिले कुर्सी जाेगिएपनस भावि पुस्ताले नेताहरुमाथि नै प्रश्न उठाउने उहाँले बताउनुभयाे । 'याे विधेयक जघन्य छ, यति अपराधीकरण छ, अहिले त तपाइँहरूको कुर्सी त जोगिएका, तर भोलि तपाइँका सन्तान जाेगिँदैनन्, यसले मुलुक कसरी अगाडि बढ्न सक्छ ? भाेलि तपाइँका छाेरा, नाति र पनातिले तपाइँमाथि औंला ठड्याउनेछन्, यसले मुलुकलाई सही बाटोमा बढाउँदैन, राजनीतिक गर्न पाइन्छ तर शान्तिपूर्ण'- प्रमुख सचेतक शाहीले भन्नुभयाे ।
प्रतिपक्षमा भएका कारणले नभएर असंवैधानिक भएकाले आफूहरुले विधेयककाे विराेध गरेकाे शाहीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'कुनै पनि मानिसले मान्छे मारेपनि, हत्या गरेपनि, बम पड्काएपनि, घर जलाएपनि, बस जलाएपनि, त्याे व्यक्तिले म राजनीतिक दलकाे मान्छे हूँ, म वार्तामा आउन चाहान्छु, मेरा सबै मुद्दा फिर्ता लग भनेर फिर्ता लिने हाे भने भाेलि याे देशमा विद्राेही समूह जन्मिदैन भन्ने के ग्यारेन्टी छ ? राजनीतिक भनेकाे शान्तिपूर्ण गरिन्छ, विचारले गरिन्छ, मान्छेका घाँटी काटेर राजनीति गरिँदैन त्याे त क्रुर अपराध हाे ।'
साे विधेयकले देशलाई अफ्रिका भन्दा पनि पछाडि धकेल्ने समेत प्रमुख सचेतक शाहीले बताउनुभयाे । 'यो विधेयकले हाम्रो देशलाई अफ्रिका भन्दा पछाडि धकेल्छ, सडककाे किनारमा मान्छेकाे हत्या हुन्छ, मान्छेलाई मारिन्छ, अनि क्रान्तिका लागि भनेर पर्चा छरिन्छ, प्रचारका आधारमा मान्छे मार्नेलाई सरकारले याे त राजनीतिक दल हाे भनेर उन्मुक्ति दिन्छ, यस्तो किसिमको परम्परा देशमा बस्यो भने, यही संसद्भित्र बसेका कति माननीयहरूको जीवन रहन्छ की रहँदैन ? जसरी अफगानिस्तानमा बम पड्केका छन्, त्यसरी नेपालका बजारमा बम पड्किन सुरु भए ? राज्यले कानुन कमजाेर बनाउने, राजनीति आस्था राखे भन्दैमा अदालतमा रहेका अपराधीलाई पनि छाेड्ने, राजनीतिक आस्थाका आधारमा मान्छे मार्न थालनी गर्ने हाे भने, याे देशमा भाेलि काेही जिवित रहन्छ ? यस्ताे पनि विधेयक ल्याउन पाइन्छ ?'- उहाँकाे प्रश्न छ ।
याे विधेयक अगाडि बढे ठूलाबडाहरु उम्किने समेत उहाँले बताउनुभयाे । २००७ देखि ०६२-०६३ काे इतिहास मात्रै पल्टाएर हेर्ने हाे भने देशमा अहिलेसम्म गरिब, सर्वहारा वर्ग, जनजाती, दलित र पिछडा वर्ग मारिएका प्रमुख सचेतक शाहीले बताउनुभयाे । राजनीतिक गर्ने टाठाबाठाहरुले गरिबलाई मारेर, उनीहरुकाे लासकाे सिढी चढाएर राजनीति गरेर, राजनीतिक नेताका रुपमा स्थापित गर्ने कुराले भाेलि कसैकाे भविष्य सही ठाउँमा नहुने उहाँले बताउनुभयाे ।
गाैतमबुद्धकाे देश, माता सीताकाे जन्मभूमि, भगवान शिवकाे आराधना केन्द्र नेपालमा हिंसालाई माफ नहुने समेत प्रमुख सचेतक शाहीले बताउनुभयाे । विधेयकले हिंसालाई माफ गर्ने बताउँदै उहाँले भन्नुभयाे - 'कुनै पनि राजनीतिक दल समूह उपसमूहले हिंसा र हत्या गरेर शान्तिवार्तामा आउँछ भने उसले गरेका हजाराैं खुनहरु माफ गर्ने, उसलाई राजनीतिक दलकाे संज्ञा दिने हाे भने भाेलि काेही जिवित रहन्छ ?'
मिटरब्यासम्बन्धी विधेयकमा आफूहरुकाे समर्थन रहेकाे भन्दै प्रमुख सचेतक शाहीले गलत कुरालाई हेरेर आफूहरु नबस्ने चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे - 'अपराधलाई राजनीतिकरणकाे रंग दिएर मुलुकलाई बर्बादितिर धकेल्न पाइँदैन, यस्ता किसिमका विधेयक ल्याउनुभन्दा अगाडि लाज मान्नुपर्छ, हुन त नेताज्यूहरुका छाेराछाेरी सबै विदेशमा छन् ।'
