काठमाडौं । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभाबाट पारित भएको छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकले साे विधेयक सर्वसम्मत रुपले पारित भएकाे हाे । मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी समस्यालाई सम्बोधन गर्नेगरी सरकारले साे विधेयक सर्वसम्मत रुपमा पारित भएकाे हाे ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएकाे मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पारित गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे । साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख देवराज घिमिरेले सर्वसम्मतिले पारित भएकाे घाेषणा गर्नुभयाे ।
विधेयकमा प्रतिनिधि सभाका १४ जना सांसद्ले संशोधन प्रस्ताव दर्ता गरेका थिए । सांसद्हरुले दर्ता गराएको संशोधनमा मन्त्री गुरुङले प्रस्तावमा एकीकृत गरेर लैजाने प्रतिबद्धता जनाएपछि विधेयक सर्वसम्मतले पारित भएको हो ।
साे विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनुेछ त्यसपछि उक्त विधेयक कानुन बन्ने र लागू हुनेछ ।
सरकारले वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेर नेपाल राजपत्रमा प्रकाशित गरेको थियो । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनका रुपमा कानुनी परिभाषा गरी त्यसलाई दण्डनीय हुने गरी व्यवस्था गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० तयार पारेकाे थियाे ।
साे विधेयक वैशाख २४ गते संघीय संसदका दुवै सदनमा पेस भएकाे थियाे । राष्ट्रिय सभाले असार १५ गते साे विधेयक पारित गरी प्रतिनिधि सभामा पठाएको थियो । असार २० गते साे विधेयक पारित गर्ने कार्यसूची थियाे । तर आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएकाे भन्ने प्रधानमन्त्रीकाे अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गरेपछि साे विधेयक स्वत: निष्क्रिय भएकाे थियाे । अध्यादेश जारी भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।
सरकारले साे विधेयक आइतबार पुन: संसद् पेस गरेकाेमा आजै पारित भएकाे हाे । प्रतिनिधि सभाको अर्को बैठक साउन १० गते बुधबार दिउँसो १ बजे बस्नेछ ।
