काठमाडाैं । संसदीय सुनुवाइ समितिले ६ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेकाे छ ।
बुधबार सिंहदरबारमा बसेकाे समितिकाे बैठकले विभिन्न देशका लागि सरकारबाट सिफारिस लोकबहादुर थापा, रामप्रसाद सुवेदी, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल, धनबहादुर ओली र सुधीर भट्टराईको सुनुवाइ प्रक्रिया सुरु गरेकाे हाे ।
समितिकाे बैठकले उहाँहरुकाे सुनुवाइ गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय गरेको छ । प्रस्तावित राजदूतको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र उनीहरुको नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा उजुरी भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएकाे समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली सूचना वा उजुरी दिन सूचना प्रकाशित गर्ने निर्णय भएकाे जानकारी दिँदै उहाँले उजुरी आह्वान सम्बन्धी सूचना प्रकाशित गर्न समिति सचिवलाई निर्देशन पनि दिनुभयो ।
असार २६ गते बसेकाे मन्त्रिपरिषद् बैठकले लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्ड, सुधीर भट्टराईलाई फ्रान्स, घनश्याम लम्साललाई कुवेत, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स (युएई) र धनबहादुर वलीलाई थाइल्याण्डका लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।
मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरुकाे नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
