काठमाडाैं । राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले चन्दर मुखियालाई गाेताखाेरका रुपमा नियुक्त गर्न माग गर्नुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् शर्माले हालै सप्तकोशी नदीमा भएको ट्रक दुर्घटनामा पानीमा डुबेका व्यक्तिलाई स्थानीय चन्दरले उद्दार गरी बचाएकाे र यस्ता काम उहाँले वर्षाैंदेखि गर्दै आएकाे बताउनुभयाे ।
चन्दर लामो समयदेखि दाउरा निकाल्ने, माछा मार्ने र यस्तै दुर्घटनामा परेकाको उद्धार गर्ने कार्यमा संलग्न रहँदै आएको खुलेकाे भन्दै उहाँले सिपयुक्त क्षमता, प्रतिभा र साहसको कदर गर्दै आवश्यक प्रक्रिया पुर्याएर चन्दरलाई गोताखोरका रुपमा नियुक्त गर्न माग गर्नुभयाे ।
'केही दिन अगाडि सप्तकाेशीमा एउटा ट्रक दुर्घटना हुँदा डुबिरहेका मानिसलाई चन्दर मुखियाले बचाए, उनी लामो समयदेखि सप्तकाेशीमा दाउरा निकाल्ने, माछा मार्ने र यस्तै दुर्घटनामा परेकाको उद्धार गर्ने मान्छे छन्, उनले पानीमा काम गर्ने सीप, क्षमता र अनुभव बटुलेकाे देखिन्छ, दुर्घटनामा परेका धेरै मान्छेकाे ज्यान उनले बचाएका छन्, राज्यले यस्ता क्षमता, प्रतिभा र साहसी मान्छेकाे कदर गर्नुपर्छ, तसर्थ राज्ये आवश्यक प्रक्रिया पूरा गरेर उनलाई गोताखोरका रुपमा नियुक्त गराेस्'- सांसद् शर्माले भन्नुभयाे ।
