काठमाडाैं । नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने बताउनुभएकाे छ ।
बिहीबार सिंहदरबारमा बसेकाे प्रतिनिधि सभाकाे अर्थ समितिकाे बैठकमा गभर्नर अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने तयारी भइरहेको बताउनुभयो ।
उहाँले गत आर्थिक वर्षका लागि राखिएको मूल्य वृद्धिको सीमा ७ प्रतिशत रहेकामा त्यो भन्दा माथि नै रहने देखिएको जानकारी दिनुभयो । गभर्नर अधिकारीले अहिले निक्षेप संकलन राम्रो देखिए पनि कर्जाको विस्तारै घटेको बताउनुभयो ।
देशकाे अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्नका लागि राष्ट्र बैंकले उचित निर्णय लिने पनि उहाँले बताउनुभयाे । समग्र मुलुकको आर्थिक अवस्था र अन्तरराष्ट्रिय अवस्थालाई हेरेर मौद्रिक नीति ल्याइने पनि उहाँले प्रष्ट पार्नुभयाे ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको मूल्यवृद्धि हेर्दा यो वर्षको मूल्यवृद्धि ७ प्रतिशत रहने अनुमान रहेको गरिएकाे गभर्नर अधिकारीले बताउनुभयाे ।
