काठमाडाैं । सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताउनुभएकाे छ ।
शुक्रबार संघीय संसद् सचिवालयले काठमाडौंकाे आयोजना गरेको संघीय संसद् र प्रदेश सभाको अनुभव आदानप्रदान एवं अन्तरक्रियाको उद्घाटन गर्दै सभामुख घिमिरेले मुलुकको संघात्मक व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयाे ।
आवश्यक कानुन बनाउँदै मुलुकको संघात्मक व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्ने भन्दै उहाँले अहिले तीन तहको सरकार सहितको संघीय व्यवस्थालाई कार्यान्वयनबारे विश्वका साथै नेपाली जनताले ठूलो आकांक्षासाथ हेरिरहेका बताउनुभयो । 'अहिले विभिन्न क्षेत्रबाट हाम्रो संघीयता उचित थिएन कि ? जनताका आवश्यकता पूर्ति भएनन् कि ? भन्ने खालका टीकाटिप्पणीहरु र संविधानको यो व्यवस्थामाथि छलफल हुनुपर्छ भन्ने मागहरु कताकता देखा पर्न थालिरहेको छ, यसलाई पनि हामीले कसरी बुझ्ने ?'- सभामुख घिमिरेकाे प्रश्न छ ।
सभामुख घिमिरेले संसदीय प्रणालीलाई थप मजबुद बनाउन र जनपक्षीय कानुन बनाउन संघ तथा प्रदेश सभाहरुको भूमिका महत्वपूर्ण हुने समेत बताउनुभयाे ।
