काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरीले गरिब जनताको हातमा बोकेको मोबाइल, लगाएको औँठी र सिक्री जफत गर्ने भन्सारले सयौँ किलो सुन ल्याउँदा पनि नदेखेको भन्दै आलोचना गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै बोल्ने क्रममा गिरीले नेपाल तस्करहरूको केन्द्र बनेको बताउनुभयो । ‘ आज तस्करहरूको लागि नेपाल लुटको स्वर्ग बनिरहेको छ, हामीले जे देखिरहेका छौँ, जे सुनी रहेका छौँ त्यो कुरा सामान्य छैन’, उहाँले भन्नुभयो ।
एमाले नेतृत्वको सरकारले ३० किलो सुन नेपाल ल्याउने र बेपत्ता पार्नेको छानबिन र खोज गरेको उहाँले स्मरण गराउनुभयो । त्यति बेलाको सरकारले दर्जनौँ मानिसहरूलाई खाजी गरी कारबाहीको दायरामा ल्याएर सजाय दिलाएको उहाँले बताउनुभयो ।
पछिल्लो एक वर्षलाई हर्दा विमानस्थलको सुरक्षा व्यवस्था निष्प्रभावि बनाइएको उहाँले बताउनुभयो । सुरक्षा व्यवस्थालाई कमजोर बनाएर क्विन्टलका क्विनटल सुन विमानस्थलबाट छिराउने काम भएको उहाँको भनाइ छ ।
इलेक्ट्रिक सिग्रेटको नाममा विमानस्थलमा आएको सुन छुटाउन कृष्णबहादुर महरा र उहाँका छोराले निरन्तर प्रयास गरेको उहाँले स्मरण गराउनुभयो । उहाँहरूलाई छानबिनको दायरामा नल्याएको भन्दै उहाँले आलोचना गर्नुभयो । सत्ताको आडमा अपराध गर्ने ठुला ठुला मानिसहरूलाई उन्मुक्ति दिने र भरियाहरू मात्रै समातिने काम गरिएको उहाँले प्रष्ट पार्नुभयो । ‘सत्ताको आडमा यसरी मानिसहरूलाई संरक्षण गर्ने काम भएका छन्’, उहाँले भन्नुभयो ।
एक क्विन्टल सुन जाँच गर्दा मेसिनले देखाएको भए पनि गोदाममा राखिएको र सेटिङ मिलाएर सुन निकालिएको उहाँले बताउनुभयो । राजश्व अनुसन्धान विभागका डीजीले १० अघि नै त्यो सुनको बारेमा जानकारी पाउँदा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीले जानकारी नपाउने कुरा नै नहुने उहाँले प्रष्ट पार्नुभयो । प्रधानमन्त्री, गृह मन्त्री र अर्थ मन्त्रीको सेटिङमा नेपालका करिब २० क्विन्टल सुन नेपालमा तस्करी भएको उहाँले बताउनुभयो ।
सो घटनाको छानबिन गर्न उच्च स्तरीय छानबिन समिति बन्नु पर्ने उहाँले माग गर्नभयो । दिउँसै रात पारेर मौन बस्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । ‘सरकार कसरी लुटमा उत्रिएको छ र देशलाई कसरी बरबाद पार्दै छ भन्ने कुरा हामीले देखेकोले अब कुनै पनि हिसाबले गृह मन्त्री कुर्सीमा बस्न लायक हुनुहुन्न’, उहाँले भन्नुभयो ।
गिरीले गृहमन्त्रीले नैतिकताको हिसाबले कुर्सीमा बस्ने हैसियत गुमाएको बताउनुभयो । उहाँले पदबाट राजीनामा दिनु पर्ने गिरीले माग गर्नुभयो ।
