काठमाडाैं । नेपाली कांग्रेसका सांसद् डा. सुनिल शर्माले अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा माग गर्नुभएको छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् शर्माले अर्थमन्त्री र गृहमन्त्रीकाे राजीनामा माग्नुभयाे । आफू अनुकूलका नियुक्तिदेखि एक क्विन्टल सुन तस्करी काण्डसम्म हेर्दा उहाँहरुले पदमा नैतिक अधिकार गुमाइसक्नुभएकाे उहाँले बताउनुभयाे ।
अनुसन्धानलाई सहज बनाउन पनि उहाँहरुले राजीनामा दिनैपर्ने सांसद् शर्माले बताउनुभयाे । सुन तस्करी काण्डमा गरिब भरियालाई नभएर मुख्य नाइकेलाई समात्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
ताेकिएकाे समयमा मुख्य नाइके पक्राउ गरी दुई मन्त्रीकाे राजीनामा नआए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आएपछि संसद्भित्रै आमरण अनशन बस्ने चेतावनी समेत सांसद् शर्माले दिनुभयाे ।
