काठमाडौं । प्रतिनिधि सभा सदस्य सुनिल शर्माले सुन तस्करी काण्डमा गृह मन्त्री र अर्थ मन्त्रीले मलाई थाहा छैन भनेर उन्मुक्ति नपाउने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले नैतिकताको आधारमा उहाँहरूको अब पदमा बस्ने हैसियत नभएको बताउनुभयो । ‘अहिलेको अर्थ मन्त्री र गृह मन्त्रीले अनुसन्धानको प्रक्रियालाई सहज बनाउनको निम्ति अहिलेलाई राजीनामा गरेर प्रजातान्त्रिक सिष्टमको अभ्यासलाई कदर गर्नुपर्छ’,उहाँले भन्नुभयो ।
सुन तस्करीको प्रश्न कुनै दल विशेषको प्रश्न नभएको उहाँले बताउनुभयो । सो प्रकरण सिङ्गो देशको विषय भएको उहाँको भनाइ छ । सो सुन प्रकरणका दोषी पक्राउ नपर्दा सबै सरोकारवाल सजायको भागिदार हुने उहाँले बताउनुभयो । नेतृत्वले गल्ती गर्दा टुलुटुलु हेरेर बस्न नसकिने उहाँले बताउनुभयो ।
भरियालाई समातेर मुख्य अभियुक्तलाई छाडे आफू संसद् भित्रै आमरण अनसन बस्ने उहाँले घोषणा गर्नुभयो । यो विषयलाई यत्तिकै टुङ्ग्याउने कुचेष्टा नगर्न उहाँले आग्रह गर्नुभयो । ‘मुख्य नाइके नपक्डी भरिया मात्रै समातिन्छ भने म यही संसद् भित्र आमरण अनसन बस्छु’, उहाँले भन्नुभयो ।
शर्माले अर्थ मन्त्रीले शपथ खाए पछि अर्थ सचिव, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको चिफलाई परिवर्तन गरी योजना बद्ध रूपमा क्विन्टलका क्विन्टल सुन भित्र्याइएको उहाँले बताउनुभयो ।
