काठमाडौं । प्रतिनिधि सभा सदस्य रवि लामिछानेले क्विन्टलका क्विन्टल सुन भित्रिँदा सामान्य मानिस पक्राउ पर्नुलाई नेपाली नागरिकले असामान्य नमानेका बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले वषौँदेखि सेटिडका घटना मध्येको यो अर्को एउटा घटना भएको बताउनुभयो । जनताले यसलाई असाध्यै धेरै अचम्म मानेका छैनन्, किनकि सो सेटिङ नेपाली जनताले थाहा पाई सके, अब बानी परिसकेका छन्’, लामिछानेले भन्नुभयो ।
यस्ता घटना भएपछि कर्मचारी सरुवा गरेर कारबाही गरिएको हो कि पुरस्कृत गरिएको हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । यस्ता कर्मचारीलाई तुरुन्त बर्खास्त गर्नु पर्ने गम्भीर विषयमा कर्मचारीलाई सरुवा गरेर प्रमाण नष्ट गर्न दिइएको लामिछानेले बताउनुभयो ।
सुन बोक्ने भरियालाई सरकारले नियतवश समातेको लामिछानेको भनाइ छ । सरकाले चाहेको भए सुन लिएर जाने भरियासँगै गएर सुन तस्करीको मुख्य मान्छे समाउन सकिनेमा त्यसो नगरेको भन्दै उहाँले आलोचना गर्नुभयो । केही कर्मचारी सरुवा गरेर सुन तस्करीको विषय टाल्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।
सो घटनाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको बताउँदै त्यसमा गम्भीर नभए त्यति बेला नै कुरा हुने उहाँले चेतावनी दिनुभयो ।
