काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारको फाइल खोलेपछि केही सांसद्को टाउको दुखेको बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् पाैडेलले सरकारले भ्रष्टाचारकाे छानबिन अगाडि बढाउँदा टाउकाे दुखाउनुपर्ने कारण नरहेकाे बताउनुभयाे ।
एमाले र नेपाली कांग्रेसका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेपछि सांसद् पौडेलले टाउकाे नदुखाउन आग्रह गर्नुभयाे । 'दिउँसै रात पार्न खाेजिएकाे थियाे, भ्रष्टाचारसँग सम्बन्धित कतिपय विषयकाे सरकारले छानबिन प्रकिया अगाडि बढाएकाे छ, माननीयज्यूहरुलाई टाउकाे नदुखाउनकाे निम्ति विशेष अनुराेध गर्न चाहान्छु, कसैकाे अनुहार हेर्न जरुरी छैन, सरकार अगाडि बढाेस्'- उहाँले भन्नुभयाे ।
यी काण्डलाई निष्कर्षमा पुर्याएर राज्य र नागरिकलाई सुशासनकाे प्रत्याभूति दिनेगरी अगाडि बढ्न सांसद् पाैडेलले सरकारलाई सुझाव दिनुभयाे । सरकारले केही राम्रो काम गर्दा साथ दिनुपर्नेमा चिच्याएर अवराेध गर्नु आपत्तिजनक रहेकाे समेत उहाँले बताउनुभयाे ।
ट्रान्सपरेन्सी इन्टरनेशनल लगायत विभिन्न निकायको अनुसन्धानले देखाएको नेपालको भ्रष्टाचारको अवस्था सुधार गर्न सरकार अगाडि बढ्दा विराेध गर्नुकाे औचित्य नभएकाे समेत सांसद् पाैडेलले बताउनुभयाे । 'ट्रान्सपरेन्सीको रिपाेर्ट हामीले हेरेका छैनाैं र ? छननबिन गर्नुपर्दैन ? सम्पत्ति सुद्धिकरणसम्बन्धी अन्तर्राष्ट्रिय प्रश्नमा नेपाल पक्ष भएर उभिएकाे हामीले हेरेका छैनाैं र ? हामीले कानुन बनाएर छानबिन गर्नुपर्दैन ?आज सरकारले केही गर्न खोज्दा हामीले चिच्याएर, विराेध जनाएर, असहमति गरेर, छानबिन प्रक्रिायलाई राेक्छाैं भने हामीले कुन प्रकारको सुशासनको प्रत्याभूति नागरिकलाइ दिन चाहन्छौं'- उहाँले भन्नुभयाे ।
भ्रष्टाचारमा सानो ठूलो माछा नहुने भन्दै उहाँले भ्रटाचारका विषयमा दल र मान्छे कसैको अनुहार नहेरी अघि बढ्न सरकारलाई सांसद् पाैडेलले सुझाव दिनुभयाे । दाेषीलाई कारबाही गर्दा खुशी हुनुपर्नेमा सांसद्हरु नै असन्तुष्ट हुनु गलत भएकाे समेत उहाँले बताउनुभयाे । सरकारकाे कदमकाे सांसद् पाैडेलले प्रशंसा समेत गर्नुभयाे ।
