काठमाडौं । नेकपा एमालेकी सांसद् ईश्वरी घर्ती मगरले महिलाहरुकाे अपमान हुनेगरी पुस्तक लेख्ने रामएकवाल दासलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् घर्तीले दासले लोकसेवा तयारी पुस्तक सफलताको साथी भन्नेमा महिलाहरुकाे महाअपमान हुने शब्द राखेकाे भन्दै कडा आपत्ति जनाउनुभयाे ।
सरकारकाे बहालवाला कर्मचारी भएर महिलाहरुकाे अपमान हुनेगरी पुस्तक लेख्ने दासलाई तत्काल निलम्बन गरेर काननु अनुसार कारबाही गर्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'नेपाल सरकारकाे बहालवाला कर्मचारी भएर, उच्चपदस्थ कर्मचारीले लाेकसेवाकाे तयारी पुस्तकमा महिलामाथि महाअपमान हुने शब्द राख्न हुन्छ कि हुँदैन ? यो शब्दले नेपाल र विदेशमा बस्ने आम हाम्रा नेपाली आमा दिदीबहिनीमा गम्भीर आघात पुर्याएको छ, तसर्थ यो पुस्तक लेख्ने रामएकवाल दासलाई तुरुन्त निलम्बन गरेर कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउन माग गर्छु'- सांसद् घर्तीले भन्नुभयाे ।
साे पुस्तकमा महिलालाई अपमान महशुस हुने प्रश्न र उत्तर राखिएको भन्दै उहाँले त्याे पढेर समेत सुनाउनुभयाे । 'नेपाल सरकारका वन तथा वातावरण मन्त्रालयका सहायक वन अधिकृतको लोकसेवा तयारीको एउटा पुस्तक प्रकाशित भएको छ, त्यो पुस्तकमा उहाँले यस्तो प्रश्न राख्नुभएको त्यसलाई म यहाँ राख्न चाहन्छु - राम एकवाल दासले लोकसेवा तयारी पुस्तक सफलताको साथी भन्ने पुस्तकमा केटीलाई भालु किन भनिन्छ? भनेर पश्न सोध्नुभएको छ, उहाँले उत्तरमा पोथी भालुजस्तै व्यवहार भएर, पोथी भालुले एकपल्टमा धेरैसँग संसर्ग गर्ने भएर, पोथी भालु बहुपति गामी हुन्छ भनेर, माथिका सबै यस्ताे लेखिएकाे छ'- घर्तीले भन्नुभयाे ।
अधिवक्ता शितल पाण्डेले मगर र तामाङ समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचमा विवाह हुन्छ भनेर गम्भीर अभिव्यक्ति दिएकाे भन्दै उहाँ आपत्ति जनाउनुभयाे । पाण्डेकाे अधिवक्ताकाे लाइसेन्स खारेज गरी तत्काल कानुनी कारबाही गर्न पनि सांसद् घर्तीले माग गर्नुभयाे ।
