काठमाडाैं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले सय किलाे सुन तस्करी काण्डका नाइकेलाई पक्राउ गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् खतिवडाले सुन तस्करी काण्डमा मुख्य नाइकेलाई सरकारले उन्मुक्ति दिन खाेजेकाे बताउनुभयाे ।
सय किलाे सुन भन्सार पास भएर बाहिरिँदा कर्मचारी र प्रहरी प्रशासनले नदेख्नु दु:खद भएकाे उहाँले बताउनुभयाे । नेपाललाई तस्करीकाे केन्द्र बनाउन खाेजिएकाे देखिएकाे भन्दै सांसद् खतिवडाले यसमा सचेत हुनुपर्ने बताउनुभयाे । 'केही दिनअघि एयरपोर्ट नजिकै सिनामंगलमा सय केजी सुन फेला पर्याे, त्यसलाई भन्सार कर्मचारीले देखेनन्, प्रहरी प्रशासनले देखेन, नेपाली जनताका चुल्हाेमा ५ केजी चामल हुँदैन तर एयरपोर्टबाट सय केजी सुन आयो, नेपाललाई तस्करको ट्रान्जिट पाेइन्ट बनाउने, तस्करहरुकाे स्वर्गभूमि बनाउन खेल भएकाे देखिएकाे छ, त्यसैले सरकारले बेलैमा ध्यान पुर्याउनुपर्छ'- उहाँले भन्नुभयाे ।
यसबारे सत्यतथ्य छानबिन गरी नाइकेलाई पक्राउ गर्न र दाेषीजति सबैलाई कारबाहीकाे दायरामा ल्याउन उहाँले सरकारसँग माग गर्नुभयाे । 'सत्य कुरा के हो ? एउटा भरिया, एउटा ड्राइभरलाई, एउटा खलासी खलासीलाई पक्रेर मुख्य नाइकेलाई जोगाउन खेलमा सरकार लाग्नु हुँदैन, सत्यतथ्य छिटाे भन्दा छिटाे सरकारले संसद्लाई जानकारी गराओस्'- सांसद् खतिवडाले बताउनुभयाे ।
सय किलाे सुन ल्याउने कम्पनी भनिएकाे रेडी ट्रेडले २ महिनाकाे बीचमा १९९७ केजी सामान ल्याएकाे भन्दै उहाँले यसकाे पनि छानबिन हुनुपर्ने माग गर्नुभयाे । 'जुन कम्पनीको सुन पक्रिएकाे छ, त्यो रेडी ट्रेडले दुई महिनामै १९९७ केजी सामान ल्याएको देखिन्छ, ती सामान के थिए, कुन कुन मितिमा ती वस्तु भन्सारबाट बाहिर आए ? ती सामान कहाँकहाँ पुगे ? त्याे जानकारी पनि सरकारले सदनलाई दिओस्'- उहाँले भन्नुभयाे ।
बालुवाटारस्थित ललिता निवास प्रकरणमा पनि सरकारले साना माछा थुनेर ठूलालाई छाडेको भन्दै आपत्ति जनाउनुभयाे । यस प्रकरणमा सानानातिना बिचौलिया समातेर मुद्दा टुंगाे नलाग्ने भन्दै उहाँले मुख्य नाइकेलाई पक्राउ गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
