काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले माफी माग्नुपर्ने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक यादवले प्रमुख निर्वाचन आयुक्त थपलियाले जनप्रतिनिधिहरुकाे चरित्रहत्या गर्न खाेजेकाे आराेप लगाउनुभयाे ।
'प्रमुख निर्वाचन आयुक्तले जनप्रतिनिधिहरुले खर्च विवरण बुझाएनन्, सार्वजनिक गरेन भनेर विज्ञप्ति निकाल्नुभएको छ, त्यो विज्ञप्ति कस्तो छ भने जनप्रतिनिधिहरुको चरित्र हत्या हुनेगरी योजना बनाएर प्रमुख आयुक्तले विज्ञप्ति जारी गर्नुभयो, जबकि हामीले समयमै खर्चको विवरण बुझाएका छौं, जिल्ला निर्वाचन कार्यालयमा रेकर्ड छ, हामीले आफ्नो फेसबुक पेज मार्फत, सामाजिक सञ्जालमार्फत खर्चको विवरण सार्वजनिक पनि गरेका छौं, तर जानीजानी कानुनको आफैं व्याख्या गरेर प्रमुख आयुक्तले जनप्रतिनिधिहरुको चरित्रहत्या गर्न खोज्नुभएको छ त्यो खेदजनक छ'- उहाँले भन्नुभयाे ।
प्रमुख निर्वाचन आयुक्तले माफी नमागे मानहानीकाे मुद्दा वा महाभियाेग लगाउनुपर्ने समेत यादवले बताउनुभयाे । 'म यो सदनमार्फत प्रमुख आयुक्त ज्यूलाई माफी माग्नका लागि अनुरोध गर्दछु, माफी माग्नुभएन भने त्यस्ता प्रमुख आयुक्तलाई बाध्य भएर कि त हामीले मानहानिको मुद्दा ठोक्नुपर्छ, अथवा महाभियोग लगाउनुपर्छ'- उहाँले भन्नुभयाे ।
मनसुनकाे समयमा पनि मधेशमा पानी नपरेकाे भन्दै यादवले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गरेर साेही अनुसार काम गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
