काठमाडाैं । नेकपा एमालेका सचिव एवं सांसद् याेगेश भट्टराईले संसदीय समितिलाई तत्काल पूर्णता दिन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधि सभाकाे सार्वजनिक लेखा समितिकाे बैठकमा बाेल्दै सांसद् भट्टराईले संसदीय समितिलाई ३-३ महिनासम्म नेतृत्वबिहीन बनाउनु आपत्तिजनक रहेकाे बताउनुभयाे ।
संसदीय प्रक्रिया अनुसार संसद् र समितिहरु चल्न नसकेको भन्दै उहाँले गठबन्धनका कारण समितिहरुले पूर्णता पाउन नसकेको बताउनुभयाे । उहाँले ३ महिनासम्म पनि सभापति चयन नहुनु कसकाे कमजाेरी हाे भन्दै उहाँले प्रश्न समेत गर्नुभयाे ।
सत्तारुढ गठबन्धन कारण सिर्जना भएको समस्याको भारी प्रतिपक्षले बोक्न नसक्ने भन्दै सांसद् भट्टराईले संसदीय प्रक्रियाअनुसार समितिले पूर्णता नपाए यसपछिका कुनै पनि बैठकमा उपस्थित नहुने बताउनुभयो । '३ महिनासम्म पनि सभापति चयन नहुनु कसकाे कमजाेरी हाे ? सत्तारुढ गठबन्धनभित्रकाे असहमतिका कारणले उत्पन्न भएकाे समस्याको भारी प्रतिपक्षले बोक्न चाहाँदैन, त्यसमा हामी संलग्न छैनाैं, समितिलाई ३-३ महिनासम्म सभापतिबिहीन, नेतृत्वबिहीन बनाउने कुरामा हाम्राे गम्भीर आपत्ति छ, कुनैपनि समितिकाे सभापति नछान्ने र यसरी नै चल्ने हाे भने सम्भवत: हामी अब समितिकाे बैठकमा आउँदैनाैं सभापतिज्यू, प्रतिपक्ष दल सत्तागढ गठबन्धनकाे झैझगडाकाे साक्षी भएर बस्नुकाे औचित्य छैन'- उहाँले भन्नुभयाे ।
प्रतिपक्षका कारण समितिकाे सभापति चयन हुन सकेन भनेर सञ्चारमाध्यममा भ्रम फैलाइएकाे भन्दै सांसद् भट्टराईले गम्भीर आपत्ति जनाउनुभयाे । एमालेले चाँडाे भन्दा चाँडाे सभापति चयन हुनुपर्ने बताउँदै आएकाे भन्दै उहाँले संसदीय समितिकाे नेतृत्वमा कुनै भाग नखाेजेकाे बताउनुभयाे । 'संसदीय समिति गठन भएकाे एक महिनाभित्र सभापतिकाे चयन हुनुपर्ने सामान्य अभ्यास हाे तर अहिलेसम्म सभापति चयन भएका छैनन् सभापति चयन नहुनुकाे पछाडि मिडियामा विभिन्न कुरा आएका छन् गठबन्धनमा भागबण्डा मिलेन प्रतिपक्षी दलले के माग्याे भन्ने समाचार आएका छन्, म ती समाचारकाे खण्डन गर्छु प्रतिपक्षले कुनै बार्गेनिङ गरेकाे छैन हामीले छिटाे भन्दा छिटाे समितिमा सभापति चयन हुनुपर्छ भन्दै आएका छाैं'- सांसद् भट्टराईले बताउनुभयाे ।
लेखा समितिको सभापति प्रतिपक्षले पाउने अभ्यास रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'प्रतिपक्षी दलले कुनै भागबण्डा मागेको छैन, यद्यपि लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने अभ्यास छ, गठबन्धनले यो पनि दिन चाहँदैन भने हामीलाई चाहिँदैन, तर संसदीय प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्छ, छिटाे भन्दा छिटाे समितिले नेतृत्व पाउनुपर्छ ।'
