काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय समितिलाई पूर्णता नदिएर सरकारले संसद् र सांसद्काे गरिमा घटाउने काम गरेकाे
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाकाे सार्वजनिक लेखा समितिकाे बैठकमा बाेल्दै अध्यक्ष लिङ्देनले समितिलाई लामाे समय नेतृत्वबिहीन बनाउने विषयले भविष्यमा नराम्राे नजिर बस्ने बताउनुभयाे ।
आफूहरुले समितिका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीकाे याेग्यता र क्षमतामा कुनै प्रश्न नउठाएकाे भन्दै उहाँले संसदीय पक्रियालाई गम्भीर रुपमा लिन सरकारकाे ध्यानाकर्षण गराएकाे बताउनुभयाे । 'अहिले सभापतित्व गरिरहनुभएका सभापतिज्यूकाे याेग्यता र क्षमतामा कुनै प्रश्न हाेइन, सभापति आउने पक्रियासम्मका लागि ज्येष्ठ सदस्यले सभापतित्व गर्ने हाम्राे प्रचलन छ, तर यति लामो समय हामीले समितिलाई सभापतिबिहीन, नेतृत्वबिहीन बनाइराखेका छाैं, यसले संसद् र सांसद्को गरिमा घटाउने काम गरेको छ, यसले एउटा नराम्राे नजिर भविष्यसम्म बस्छ, पहिलेपनि चलिराखेकाे थियाे चल्छ भन्ने बस्छ, याे राम्राे कुरा हाेइन'- अध्यक्ष लिङ्देनले भन्नुभयाे ।
संसदीय समितिहरुलाई चाँडो भन्दा चाँडाे पूर्णता सरकारकाे ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयाे - 'सत्तापक्षले यसमा ध्यान दिनुपर्याे, चाँडाे भन्दा चाँडाे समितिलाई नेतृत्व दिने कुरामा लाग्नुपर्छ ।' ज्येष्ठ सदस्य नेतृत्वकाे समितिले दिएकाे निर्देशन पूर्ण समितिले दिएजस्तै लागू हुने-नहुने प्रश्न पनि उठेकाे उहाँले बताउनुभयाे ।
बैठकमा बाेल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सांसद् मनिष झाले पनि संसदीय समितिहरुले चाँडो पूर्णता पाउनुपर्ने बताउनुभयाे ।
बैठकमा समितिका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले समितिको नेतृत्व चयनका लागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइने बताउनुभयो । समितिकाे आजकाे बैठकले समितिको आन्तरिक कार्यविधि पारित गरेको छ ।
