काठमाडाैं । संसदीय समितिले सुन तस्करी काण्डकाे छानबिनका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिकाे बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सार कार्यालय बाहिरबाट बरामद भएको सय किलाे सुन तस्करी काण्डबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
समितिका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा गैरकानुनी रुपमा भित्रिएको सुनको छानबिन गर्न-गराउन उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले सुन प्रकरणका विषयमा सदनमा विरोध भइरहेको अवस्थामा यसमा मातहतका मन्त्रीहरुले जवाफ दिने वातावरण बनाउनुपर्ने बताउनुभयाे ।
बैठकमा समिति सदस्यहरुले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गर्नुपर्ने माग गरेका थिए । समिति सदस्य योगेश भट्टराईले सुन तस्करी काण्डमा नियमित छानबिन समिति गठन गरेर निष्कर्ष निस्कन नसक्ने बताउनुभयाे । उहाँले स्वतन्त्र रुपमा छानबिन गर्ने गरि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने बताउनुभयो ।
समिति सदस्य रामकृष्ण यादवले सुन प्रकरणमा मुलुकको बदनाम भएको भन्दै समितिले अर्थमन्त्री र गृहमन्त्रीलाई बोलाएर स्पष्टिकरण लिनुपर्ने बताउनुभयो । समिति सदस्यहरुले सुन तस्करीको घटनाले नेपाल तस्कर र बिचौलियाहरूको लागि ट्रान्जिट प्वाइन्ट देखिएकाले सरकारले गम्भीर भएर छानबिन गर्नुपर्ने बताएका थिए ।
