काठमाडौं । सोमबारको लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । संघीय संसद्का महासचिव डा. भरत गौतमले प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले स्थगित गरिएको सूचना मार्फत जानकारी दिनुभएको छ ।
बैठक साउन १६ गते दिउँसो १ बजे बस्ने सूचना मार्फत जानकारी गराइएको छ । ‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल साउन १६ गते मंगलवार दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा लेखिएको छ ।
नेकपा एमालेले सुन तस्करी काण्डको विषयमा सरकारले चित्त बुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिने बताउँदै आएको छ । यस अघिको बैठक पनि एमालेले सञ्चालन हुन दिएको थिएन ।
सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उहाँको निवास पुग्नु भएको थियो । ओलीले सो घटनाको बारेमा सरकारको धारणा माग्नु भएको थियो । दाहालले स्पष्ट जवाफ दिन नसकेपछि ओलीले बैठक चल्न नसक्ने बताउनुभएको थियो ।
सुन तस्करी प्रकरणमा माओवादी नेताहरूको नाम धमाधम जोडिन लागेपछि सरकार अप्ठेरोमा परेको छ । आइतबार ठमेलका एक होटेल व्यवसायी पक्राउ परेपछि उहाँसँग माओवादीका थुप्रै नेताहरूको उठबस भएका भिडियो र फोटाहरू सार्वजनिक भएका छन् । सुन प्रकरणमा एमालेका नेताहरूलाई हिलो छेप्ने प्रयास माओवादीका नेताहरूले गरेका भए पनि अहिले तीर आफ्नै नेताहरू माथि सोझिएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसदले सो विषयमा कुरा उठाउने र संसद् अवरुद्ध गर्ने भयको कारण बैठक नै स्थगित गरिएको छ ।
