काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले सुन तस्करी काण्डकाे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन बनाउन नचाहेकाे बताउनुभएकाे छ ।
साेमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले मन्त्री र नेताहरु तानिने डरले सरकारले समिति बनाउन नचाहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सरकार नै उच्चस्तरीय छानबिन समिति बनाउन चाहान्न, किनभने त्यहाँ मन्त्रीहरु तानिन सक्छन्, ठूलाठूला हाइप्राेफाइलका कर्मचारीहरु, नेताहरु तानिन सक्छन्, त्यही कारण समिति नबनाऔं भन्ने पक्षमा छ सरकार, हामी त्याे कुरा मान्न तयार छैनाैं ।'
नेपाललाई सुन तस्करको अखडा बनाउने कुरा एमालेलाई सह्य नहुने चेतावनी पनि प्रमुख सचेतक गिरीले दिनुभयाे । उहाँले भन्नुभयाे - 'नेपाललाई तस्करकाे अखडा बनाउने कुरा हामीलाई स्वीकार्य छैन, अन्तर्राष्ट्रिय समुदायमा नेपालकाे बद्नाम भएकाे छ, तस्करीकाे हब बनेकाे छ, याे राेक्नुपर्छ ।'
दबाब दिन संसद् नै किन राेज्नुभयाे सञ्चारकर्मीकाे प्रश्नमा प्रमुख सचेतक गिरीले भन्नुभयाे - 'संसदभित्र त संसदीय भूमिका नै सबैभन्दा महत्वपूर्ण र सही बाटाे हाे नि, यही बाटाेबाट जानुपर्छ, बाटाेमा टायर बाल्दै दबाब दिने कुरा त उपयुक्त भएन, त्यसकारण सदनभित्रै हामीले याे कुरा उठाइराखेका छाैं ।'
