काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्ताेष परियारले सुन तस्करी काण्डकाे अनुसन्धानका लागि सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन नचाहेकाे बताउनुभएकाे छ ।
संघीय संसद् भवन परिसरमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक परियारले सरकारले समिति बनाएर छानबिनका लागि पहल गर्नुपर्ने बताउनुभयाे ।
सरकार र प्रमुख प्रतिपक्षका कारण संसद् बन्दी भएकाे समेत उहाँले बताउनुभयाे । 'सरकार उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने, प्रमुख प्रतिपक्ष उच्चस्तरीय समिति नबनेसम्म संसद् चल्न नदिनेमा अडान लिएर बसेका छन्, सरकार र प्रतिपक्षको द्वन्द्वमा संसद बन्दी भएको छ'- परियारले भन्नुभयाे ।
सुन तस्करी काण्डमा आफूहरुकाे आवाज नसुनिएकाे भन्दै उहाँले रास्वपाले सुन काण्डमा जरासम्म पुगेर सरकारले अनुसन्धान गर्नुपर्ने बताउँदै आएकाे बताउनुभयाे ।
