काठमाडाैं । नेकपा एमालेका सचेतक महेश बर्ताैलाले सरकारका कारण सदनको गतिरोध लम्बिएको बताउनुभएकाे छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्ताैलाले सुन तस्करी काण्डकाे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग सरकारले अस्वीकार गरेकै कारण सदनको गतिरोध लम्बिएकाे बताउनुभयाे ।
सदन सूचारु गरेर एमालेले आफ्नो धारणा राख्ने र सम्बन्धित मन्त्रीहरुको जवाफका आधारमा आगामी कदम चाल्ने तयारी गरेपनि सरकार पक्ष नै सूचना टाँस गरेर सदन स्थगित गर्ने पक्षमा देखिएको उहाँले बताउनुभयो ।
कार्यव्यवस्था परामर्श समितिमा पनि कुनै पनि हालतमा उच्चस्तरीय छानबिन समिति नबनाउने अडान सत्ता पक्षले राखेको सचेतक बर्ताैलाले बताउनुभयाे । सरकार प्रमुख प्रतिपक्षसँग डराएकाे पनि उहाँले बताउनुभयाे । 'कुनैपनि हालतमा उच्चस्तरीय छानबिन समिति हामी बनाउँदैनाैं भन्ने कुरा सत्तापक्षबाट कार्यव्यवस्था परामर्श समितिमा पनि आयाे, हामीले सदन अगाडि बढाैं प्रतिपक्षले कुरा राख्छ भनेर भन्दा, सरकार पक्ष संसद्मा प्रतिपक्षले विषय राख्छ भन्ने त्रासका कारण संसद् अगाडि नजाओस् भन्ने चाहान्छ'- सचेतक बर्ताैलाले भन्नुभयाे ।
