काठमाडाैं । नेपाली कांग्रेसका सांसद् प्रदीप पाैडेलले सुन तस्करी काण्डकाे अनुसन्धानका लागि छुट्टै छानबिन समिति बनाउनुपर्ने बताउनुभएकाे छ ।
संघीय संसद् भवन परिसरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् पाैडेलले छुट्टै छानबिन समिति बनाउनुपर्ने र प्राविधिक पक्षलाई पनि समावेश गरेर निर्मम ढंगले छानबिन गर्नुपर्ने बताउनुभयो । 'आशंकका विषय धेरै आउँछन्, राज्यलाई पनि शंका गर्ने, कतै मिलेमताे छ कि भन्ने पनि हुन्छ, त्यसैले संसद्मा छलफल गर्ने, संसद्काे समयलाई बर्बाद गर्नुहुँदैन, छानबिन समिति अब अनिवार्य बनाइनुपर्छ, त्याे समितिमा प्राविधिक पक्ष बुझेका मानिस पनि राख्नुपर्छ, छानबिन समिति निष्पक्ष हुनुपर्छ'- उहाँले भन्नुभयाे ।
सुन तस्करी काण्ड निक्कै गम्भीर काण्ड भएकाे सांसद् पाैडेलले यसकाे सत्यतथ्य छानबिन हुनुपर्ने बताउनुभयाे । एयरपाेर्टमा र भन्सार राज्यकाे अनुपस्थिति हुने स्थिति हुन्छ ? भन्दै उहाँले प्रश्न गर्नुभयाे ।
सरकारले याे घटनाकाे छानबिनका लागि इच्छाशक्ति देखाउनुपर्ने र याे अन्तिम घटना हाे भन्ने ग्यारेन्टी राज्यले गर्नुपर्ने सांसद् पाैडेलले बताउनुभयाे । छानबिन चित्तबुझ्दाे भएन भने मन्त्रीहरुकाे राजीनामा पनि माग्नुपर्ने उहाँले बताउनुभयाे ।
