काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दैछ ।
सिंहदरबारमा बस्ने बैठकमा थाइल्याण्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओली कुवेतका लागि प्रस्तावित घनश्याम लम्साल र संयुक्त अरब इमिरेट्स (युएई) का लागि तेजबहादुर क्षेत्रीकाे सुनुवाइ हुनेछ ।
यसअघि बुधवार बसेको समितिकाे बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका लागि लोकबहादुर थापा, स्वीट्जरल्याण्डका लागि प्रस्तावित रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित सुधीर भट्टराईको संसदीय सुनुवाइ भएको थियो । उहाँहरूले आ-आफ्ना योग्यता, अनुभव, अवधारणा र कार्ययोजना प्रस्तुत गर्नुभएकाे थियाे ।
यसअघि मंगलबार बसेकाे समितिकाे बैठकले प्रस्तावित राजदूतहरु विरुद्ध परेका उजुरीमाथि छलफल नगर्ने र सुनुवाइ पक्रिया अगाडि बढाउने निर्णय गरेकाे थियाे । प्राप्त उजुरीहरु छलफलका लागि याेग्य नभएकाे भन्दै बैठकले सिधै सुनुवाइ पक्रिया सुरु गर्ने निर्णय गरेकाे हाे ।
सरकारले परराष्ट्र सेवामा रहेका सहसचिवलाई विभिन्न कूटनीतिक नियोग र मुलुकमा राजदूतका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।
गत असार २६ गते बसेकाे मन्त्रिपरिषद् बैठकले ६ जनाकाे नाम राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।सुनुवाइ समितिबाट नाम अनुमाेदन भएपछि राष्ट्रपति रामचन्द्र पाैडेलले उहाँहरुलाई राजदूत नियुक्त गर्नुहुनेछ ।
