काठमाडौं । आज दिउँसो १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक प्रमुख प्रतिपक्षी एमालेले चल्न नदिने भएको छ ।
सुन तस्करी काण्डकाे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संघीय संसद्का दुवै सदन चल्न नदिइने संसदीय दलकाे निर्णय अनुसार एमालेले बैठक अवरुद्ध गर्न लागेकाे हाे ।
आजकाे राष्ट्रिय सभा बैठक सुरु हुनासाथ सुन तस्करी काण्डबारे आफूहरुले धारणा राख्ने र अन्य कार्यसूची अगाडि बढ्न नदिइने एमाले सांसद् भगवति न्याैपानेले जानकारी दिनुभयाे ।
आजकाे बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।
उहाँले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउनुहुने सम्भावित कार्यसूची पनि छ ।
बैठकमा 'संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८०' सभासमक्ष पेस गर्ने कार्यसूची रहेकाे पनि संसद् सचिवालयले जनाएकाे छ ।
यता प्रमुख प्रतिपक्ष एमालेले भने आजकाे राष्ट्रिय सभा बैठक चल्न नदिने रणनीति बनाएकाे छ । सुन तस्करी काण्डकाे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संघीय संसद्का दुवै सदन चल्न नदिने एमालेले जनाएकाे छ ।
