काठमाण्डाैं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित ६ जना राजदूतको नाम अनुमोदन गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेकाे संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित ६ जना राजदूतको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको समिति सभापति ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयाे । समितिले बुधबार ३ जना र आज ३ जनाकाे सुनुवाइ सकेर नाम अनुमाेदन गरेकाे हाे ।
अनुमाेदित हुनेमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका लागि प्रस्तावित लोकबहादुर थापा, स्वीट्जरल्याण्डका लागि प्रस्तावित रामप्रसाद सुवेदी, फ्रान्सका लागि प्रस्तावित सुधीर भट्टराई, थाइल्याण्डका लागि प्रस्तावित धनबहादुर ओली, कुवेतका लागि प्रस्तावित घनश्याम लम्साल र संयुक्त अरब इमिरेट्स (युएई) का लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री हुुनुहुन्छ ।
गत असार २६ गते बसेकाे मन्त्रिपरिषद् बैठकले ६ जनाकाे नाम राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो । सुनुवाइ समितिबाट नाम अनुमाेदन भएसँगै अब उहाँहरुलाई राष्ट्रपति रामचन्द्र पाैडेलले राजदूतमा नियुक्त गर्नुहुनेछ ।
