काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन नै बाेकेर हिँडेकाे गुनासाे गर्नुभयाे ।
सिंहदरबारमा शुक्रबार बसेकाे प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बाेल्दै उहाँले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले विद्युतीय हाजिरी मेसिनकाे व्यवस्था गरेकाे तर प्राध्यापकहरूले मेसिन नै बोकेर हिँडेको गुनासाे गर्नुभयाे ।
मेसिन बोकेर हिँड्नेहरुलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको समेत उपकुलपति बास्कोटाले बताउनुभयाे । 'हाम्रा त शिक्षकहरू पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउन्टेनले पनि हाजिर गर्न आउनुस् भन्ने चलन, आएर हाजिर गर्यो, तलब बुझ्ने चलन, यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरूले बोकेर हिँडे, मेसिन बोकेर हिँड्नेलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न मानेन'- उहाँले भन्नुभयाे ।
उपकुलपतिकाे कार्यालयमा तालाबन्दी भएपछि काठमाडौंको होटल एल्लो प्यागोडामा आफूहरूले गरेको मिटिङको माइन्युट समेत संगठनको आवरणमा केही मानिसले लुटेर लगेको र त्याे माइन्युट तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेको भन्दै बास्काेटाले आपत्ति जनाउनुभयाे । 'मेरो मित्रवत् सम्बन्ध भएकाले पैसा नलिने, हामीलाई चिया पनि सित्तैमा खुवाउने होटल एल्लो प्यागोडामा हामीले मिटिङ गरेको, केही अराजक जत्था कुनै संगठनको आवरणमा आएर हामीहरुको माइन्युट लुटेर लगेकै हो, लुटेर लगेको डकुमेन्ट किन बुझ्नुभयो ? अहिले पनि त्यो शिक्षामन्त्रीको मै छ, अब हामीले पुलिसमा जाहेरी दिँदा नलिएको अवस्था छ, यस्ता थुप्रै समस्या छन्'- उहाँले भन्नुभयाे ।
त्रिविमा विद्यार्थी संगठनदेखि राजनीतिक दलका कार्यकर्ता भागबण्डा चाहियाे भनेर आउने गरेका भन्दै उपकुलपति बास्काेटाले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाकाे थलो बनाउनबाट राेक्नुपर्ने बताउनुभयाे । यसका लागि आफ्नाे एकल प्रयासले नहुने भन्दै उहाँले सबैले सहयाेग गर्नुपर्ने बताउनुभयाे ।
लामाे समयकाे प्रयासपछि स्ववियु चुनाव गर्न आफूहरु सफल भएकाे उहाँले बताउनुभयाे । यसअघि ३ सय ४१ दिन त्रिविमा तालाबन्दी भएकाे स्मरण गर्दै उपकुलपति बास्काेटाले स्ववियु चुनाव भएपछि केही तालाबन्दी लगायत गतिविधि कम भएकाे बताउनुभयाे ।
सरकारले नीति तथा कार्यक्रम र बजेटमा तलब भत्ता-कटाैती गर्ने घाेषणा गरेपछि वामक र्मचारीकाे नाममा त्रिविका कर्मचारीले आन्दाेलन थालेका उहाँले बताउनुभयाे । अनुसन्धान पनि आउने अवस्था नरहेकाले तलब-भत्ता कटाैती नगर्न पकुलपति बास्काेटाले आग्रह गर्नुभयाे ।
क्याम्पस गएकाे शिक्षक फर्केर आउँछ कि आउँदैन भन्ने अवस्था त्रिविमा अहिले पनि रहेकाे उहाँले बताउनुभयाे ।
