काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
सुन तस्करी काण्डलाई लिएर प्रभावित हुँदै आएकाे संसद्का दुवै सदनकाे बैठक आज बस्न लागेकाे हाे । प्रतिनिधि सभा बैठक दिउँसाे १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ भने राष्ट्रिय सभा बैठक दिउँसाे १ बजेर १ मिनेटमा बस्दैछ ।
प्रतिनिधि सभाकाे बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्नुहुने भएकाे छ । सभामुख घिमिरेले मध्यान्ह १२ बजे प्रमुख दलका शीर्ष नेताबीच छलफल गर्न लाग्नुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ । उहाँले आइतबार पनि सदनको अवरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गर्नुभएकाे थियाे । तर सत्ता र प्रतिपक्षबीचकाे अडानका कारण सदन सुचारु गर्ने विषयमा सहमति जुटेन ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी काण्डकाे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै आएकाे छ । तर सरकार र सत्तापक्षले भने त्यस्ताे समिति आवश्यक नरहेकाे बताउँदै आइरहेकाे छ । सत्तापक्षका केही सांसद्ले भने छुट्टै समिति चाहिने पनि बताउँदै आएका छन् ।
सुन तस्करी काण्डमा सरकार नै मुछिएको भन्दै एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेकाे हाे । उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवराेध गरेकाे थियाे ।
यद्यपि साउन १५ गते प्रतिनिधि सभामा सरकारकाे कुरा सुन्ने र चित्त नबुझे अवराेध कायम राख्ने एमालेले बताएकाे थियाे । तर त्यसदिन सूचना टाँसेर बैठक स्थगित गरियाे । सरकारमा रहेकाहरुकाे मिलेमताेमै सुन तस्करी भएकाले सरकारले जवाफ दिन डराएर सदन नै राेकेकाे एमालेकाे आराेप छ । उच्चस्तरीय छानबिन समिति बनाउँदा सरकारका मन्त्री र गठबन्धन दलका नेता तानिने भएकाले सरकारले सदन राेकेर तमासा गरिरहेकाे एमालेकाे आराेप छ । त्यसपछि साउन १८ गते बसेकाे राष्ट्रिय सभा बैठकमा पनि एमालेले अवराेध गरेकाे थियाे ।
यस्ताे छ प्रतिनिधि सभा बैठककाे आजकाे कार्यसूची
आजकाे प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सभामुखले घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेस गर्नुहुनेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा ९२० बमोजिम सदन समक्ष पेस गर्नुहुनेछ ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
यस्ताे छ राष्ट्रिय सभा बैठककाे आजकाे कार्यसूची
राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसबन्धी पत्रहरुको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउनुहुने कार्यसूची छ ।
बैठकमा विधायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार 'बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन, २०८०' सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
