काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले सुन तस्करी प्रकरणले नेपालको सुरक्षा व्यवस्था माथि अन्तर्राष्ट्रिय समुदायले प्रश्न उठाएको बताउनुभएको छ ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै रावलले सो घटनाले नेपालको सुरक्षा व्यवस्था उदाङ्गो भएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धुमिल भएको रावलले टिप्पणी गर्नुभयो । ‘स्वाभिमानी नेपालीहरूको सिर निहुरिएको छ, यस्तो परिस्थितिमा पनि वर्तमान गठबन्धन सरकार गम्भीर देखिँदैन’, उहाँले भन्नुभयो ।
उहाँले सुन तस्करी काण्डमा सरकारको संलग्नता रहेको कुरा अनेक तथ्यले पुष्टि भएको उहाँले बताउनुभयो । सरकारले गर्ने छानबिनमा आफूले आफैँलाई दोषी करार गर्न नसक्ने उहाँले दाबी गर्नुभयो । त्यसैले निष्पक्ष छानबिन गर्न उच्च स्तरीय समिति आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।
सुन तस्करीमा संलग्न भनिएका तिब्बती मूलका नागरिक दावा छिरिङ शेर्पाले नेपाल सरकारको ठाडो आदेशमा २०७४ पुस २० गते काभ्रे जिल्ला प्रशासनबाट नागरिकता लिएको बताउँदै रावलले त्यति बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री, नेपाली कांग्रेसकै विमलेन्द्र निधि गृह मन्त्री हुनुभएको र माओवादी समेत सो सरकारमा रहेको उहाँले स्मरण गराउनुभएको छ । रावलले आरोपी दावाले नेपालबाटै राहदानी समेत लिइसकेको बताउनुभयो । ‘सरकारले गर्ने छानबिनले त्यस बेलाका दोषीलाई छानबिनको दायरमा ल्याउन सक्छ भन्ने कुरामा हामीलाई शंका छ, किमार्थ गर्न सक्दैन’, उहाँले भन्नुभयो ।
एउटा सामान्य मजदुरको नाममा कम्पनी दर्ता गरी गरिएको अवैध धन्दाको सबै छानबिन हुनु पर्ने उहाँले बताउनुभयो । त्यसमा सरकारको संलग्नता रहेको उहाँको दाबी छ । सुन तस्करी काण्डमा राज्यको संगठित संलग्नता रहेको उहाँको भनाइ छ । सुन तस्करीको सवाल राष्ट्रिय सुरक्षासँग जोडिएको सवाल र अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएको सवाल भएकोले पनि उच्च स्तरीय छानबिन समिति गठन हुनु पर्ने उहाँले माग गर्नुभयो ।
