काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
साेमबारका लागि तय भएकाे बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएकाे हाे । दिउँसाे १ बजेका लागि तय गरिएकाे बैठक अपरान्ह ४ बजेका लागि सारिएकाे थियाे । तर साे समयमा पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले सूचना टाँसेर बैठक भाेलिसम्मका लागि स्थगित गरेकाे हाे ।
आज ४ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको अर्को बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने गरी निर्धारण गर्नुभएकाे सूचनामा उल्लेख छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे माग सम्बाेधन गर्न सरकार तयार नभएपछि प्रतिनिधि सभा बैठक प्रभावित भएकाे हाे ।
सय किलाे सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने एमालेकाे माग छ । तर सरकार र सत्तापक्ष भने समिति बनाउन नहुने पक्षमा छ । साेही विषयलाई लिएर केही दिनदेखि सदन प्रभावित भइरहेकाे छ ।
सदनकाे गतिराेध अन्त्य गर्नका लागि सभामुख देवराज घिमिरेले प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग आजै २ चरणमा र आइतबार एक चरणमा छलफल गर्नुभएकाे छ । तर साे छलफल निष्कर्षबिहीन भएकाे छ ।
