काठमाडाैं । नेपाली कांग्रेसका सांसद् विश्वप्रकाश शर्माले ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारकाे निर्णयले गलत सन्देश दिएकाे बताउनुभएकाे छ ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् शर्माले कस्ताे ठाउँमा कस्ताे व्यक्तिलाई नियुक्ति गर्ने भनेर ध्यान नपुर्याउनु सरकारकाे गम्भीर गल्ती भएकाे बताउनुभयाे । लामालाई कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व कांग्रेसले नबाेक्ने समेत उहाँले बताउनुभयाे ।
'कुनैपनि संस्थाको नेतृत्व गर्नलाई चाहिने आवश्यक योग्यताहरु के हुन् ? कुनैपनि संस्थाका नेतृत्व गर्नका लागि आवश्यक व्यक्तिगत पृष्ठभूमि, छवि, योग्यता के हो भन्ने विषय सार्वजनिक बहसमा आइरहनुपर्ने विषय होइन, किनभने स्थापित परम्परा, विधि र प्रक्रियाहरु छन्, भगवान् गौतम बुद्धको सम्मानित थलो जुन थलोमा उभिँदै गर्दाखेरी देशभरी नै भगवान् गौतम बुद्ध यही माटोमा जन्मिनुभएको थियो भन्दै गर्दा गौरव अनुभूति गर्छौं, संसार भरिका मानिसहरु नेपालतिर फर्केर श्रद्धा गर्छन्, त्यो माटोमा शिर झुकाउन पाउँदै गर्दा जीवन नै धन्य भयो भन्ने महशुस गर्छन्, यस्तो थलोमा नेतृत्व चयन गर्दै गर्दा खेरी कस्तो पृष्ठभूमिको ? के योग्यता ? कस्तो छविको भनेर ध्यान नपुर्याउनु वर्तमान सरकारको गम्भीर गल्ती हो'- सांसद् शर्माले भन्नुभयाे ।
कांग्रेस महामन्त्री समेत रहनुभएका सांसद् शर्माले यस विषयमा आफ्नाे विमती रहेकाे बताउनुभयाे । यसबारे आफूले कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङकाे ध्यानाकर्ष गराएकाे उहाँले बताउनुभयाे । 'यो निर्णय सरकारको निर्णय हो, यो निर्णयको स्वामित्व कांग्रेसले बोक्दैन, सरकारले गरेका राम्रा कामको सेयरिङ हामी गर्न चाहान्छौँ, सरकारले गरेका गल्तीमा हामी खबरदारी गर्न चाहान्छौं, लुम्बिनी विकास कोषको नेतृत्वमा जुन विवादास्पद व्यक्तिलाई ल्याएको विषयसँग कांग्रेस पार्टीको संस्थागत रुपमा सहमति हुन सक्दैन, यसमा हाम्राे आपत्ति छ'- उहाँले भन्नुभयाे ।
