काठमाडौं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
सदनकाे अवरोध हटाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति जुट्न नसकेपछि साेमबार बाेलाइएकाे बैठक आजका लागि सारिएकाे थियाे । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे ३ बजे बस्ने प्रतिनिधि सभा बैठकका लागि विभिन्न सम्भावित कार्यसूची तय गरिएकाे छ ।
सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू पढेर सुनाउनेहुनेछ ।
बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सभामुखले घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेस गर्नुहुनेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा ९२० बमोजिम सदन समक्ष पेस गर्नुहुनेछ ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
